काठमाडौं, वैशाख १६ – निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् । विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो ।
यस्तो सुविधा विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरर्पोट प्रिपेड ट्याक्सीको हकमा मात्र लागू हुने जनाइएको छ । हवाई यात्रुले वैधानिक हवाई टिकट/पासपोर्ट/भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्ने छन् । यसका लागि सवारी साधनको सुविधा आवश्यक भएमा प्रिपेड ट्याक्सी बोलाउन सकिने छ ।
विमानस्थल कार्यालयका अनुसार प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने छन् । उक्त प्रयोजनका निम्ति सम्बन्धित ट्याक्सीको फोन नम्बरसमेत विमानस्थल कार्यालयले सार्वजनिक गरेको छ । यो सुविधा दुवैतर्फका यात्रुले पाउने छन् ।
FACEBOOK COMMENTS