काठमाडौं, माघ ३ – नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वैशाखमा निर्वाचन हुनुपर्ने बताएका छन्। संसद् विघटनविरुद्ध काँग्रेसको ललितपुर महानगरपालिका समितिले आयोजना गरेको विरोधसभामा महतले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरेको अवस्थामा कुनै पनि हालतमा वैशाखमा निर्वाचन हुनुपर्ने बताए ।
उनले भने, ‘वैशाखमा निर्वाचन नगरेर आलटाल गरियो भने आन्दोलनको आँधिबेहरी आउँछ र केपी ओली नेतृत्वको सरकारलाई हटाइन्छ।’ उनले ढिलोचाँडो निर्वाचन हुने भन्दै त्यसको तयारी गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।
‘पुनर्स्थापना भयो भने दुई वर्षपछि र विघटन सदर भयो भने तत्कालै निर्वाचन हुन्छ। निर्वाचन जहिले होस्, हामी तयारीमा जुट्नुपर्छ । तर सत्ता लम्बाउने खेलमा सरकार लाग्यो भने आन्दोलन गर्न समेत तयार हुनुपर्छ,’ महतले भने ।
उनले काँग्रेसले संसद चाहेको बताए । ‘पुनर्स्थापनामार्फत् वा निर्वाचनमार्फत् होस् हामीलाई जसरी पनि संसद चाहिन्छ,’ उनले भने। उनले राज्यको स्रोतसाधन सरकारले आफ्नो स्वार्थका लागि प्रयोग गरेको भन्दै अलोचनासमेत गरे।
‘कम्युनिस्ट सरकारले राज्यको साधन स्रोत आफ्नो फाइदाका लागि प्रयोग गरेको छ। जनताले उपचार नपाएर मर्नुपर्ने अवस्था छ। तर, उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको संयन्त्रले भ्रष्टाचार मात्रै गरेको छ’ उनले भने, ‘अहिले कम्युनिष्ट नेताहरू लाख र करोडमा भ्रष्टाचारको कुरा गर्दैनन्। अर्बभन्दा तल कम्युनिस्ट नेताहरूले सोच्दै सोच्दैनन्।’
FACEBOOK COMMENTS