काठमाडौं, माघ १९ – कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेका बेला चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई सरकारले नेपाल फर्काउने भएको छ । कोरोना भाइरस प्रभावित क्षेत्र हुवेई प्रान्तमा रहेका नेपाली नागरिकमध्ये संक्रमण नभएका आफ्ना नागरिकलाई मात्र सरकारले स्वदेश फिर्ता गर्न लागेको हो । संक्रमण तीव्र गतिमा फैलँदै गएपछि सरकारले यो निर्णय गरेको हो ।
चीनस्थित नेपाली राजदूतावासले शनिबार सूचना प्रकाशित गर्दै हुवेई प्रान्तमा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउने जनाएको छ । त्यहाँ रहेका नेपालीले आफू असुरक्षित रहेको भन्दै सरकारलाई नेपाल फर्काउन आग्रह गर्दै आएका थिए । नेपाल फर्कन इच्छुकले आज आइतबार बिहान ९ बजेसम्म फर्म भरिसक्नुपर्ने दूतावासले जनाएको छ । दूतावासले जारी गरेको सूचनामा नेपाल फर्कन चाहने नेपालीले अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । संक्रमण भइसकेकालाई भने चीनमा नै राखेर उपचार गरिने भएको छ ।
हाल उहान प्रान्तमा १ सय ८९ जना नेपाली रहेको तथ्यांक छ । चीनको वुहान सहर क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई फिर्ता गर्न दुईवटा जहाज तयारी अवस्थामा राखिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको ‘रेस्क्यु’ गर्न जहाज तयारी अवस्थामा रहेको बताए । उनले नेपाल एयर लाइन्स र हिमालय एयरलाइन्सका दुईवटा जहाज तयारी अवस्थामा रहेको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार वुहानमा रहेका नेपालीलाई उद्धारपछि नेपाली सेनाको ब्यारेक, ट्रेनिङ सेन्टर वा विद्यालयमा सुरक्षित तरिकाले राख्नका लागि अन्तरमन्त्रालय र समितिहरूमा छलफल चलिरहेको छ । ‘वुहानमा रहेका नेपाली सुरक्षित छन् । नेपाल सरकारले उनीहरूलाई ल्याएपछि कहाँ राख्ने भन्ने विषय छलफलमा छ । केही समय उनीहरूलाई विशेष निगरानीमा राखेपछि मात्र घर फिर्ता गर्नुपर्ने हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।
उद्धार गरिएका नेपालीहरूलाई दुई सातासम्म अब्जरभेसनमा राख्नुपर्ने इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेक लालले बताए । उनले भने, ‘उहाँहरूलाई उद्धार गरेपछि सुरक्षित अवतरण गराउनुपर्छ । निरन्तर निगरानीमा राख्नुपर्छ । संक्रमण नभएको पुष्टि भएपछि मात्र समाजमा घुलमिल हुन दिइनेछ ।’ आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS