काठमाडौं, २९ माघ – होटल व्यवसायी संघ नेपाल (हान) ले होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा घोषणा गर्न सरकार समक्ष माग राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई हानकी अध्यक्ष सृजना राणा नेतृत्वको टोलीले भेटेर होटल उद्योगलाई कानुनी रुपमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा घोषणा गर्नुपर्ने, कर्मचारीको तलव भत्ता वितरणका लागि सरकारले आवश्यक सहयोग गर्नुपर्ने माग राखेका हुन् ।
मन्त्री ढकाललाई ज्ञापनपत्र बुझाउँदै होटल उद्यमीहरूले बैंकबाट विभिन्न शीर्षकमा लिएको ऋणको ब्याज परिस्थिति अनुकूल नहुञ्जेलसम्मका लागि मिनाहा गर्नुपर्ने माग फेरि पनि राखेको छन् । व्यवसायीहरूले ऋण तिर्ने समय सीमादेखि ब्याज मिनाह तथा छुट र कर्मचारीलाई दिने तलब भत्तामा समेत सहयोग गरिदिन मन्त्रीलाई आग्रह गरेका हुन् ।
पर्यटन व्यवसायीले मन्त्री समक्ष १५ बुँदे माग राख्दै कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले सहजीकरण गर्नुपर्ने र पर्यटन क्षेत्र चलायनमा बनाउन आवश्यक सहयोग गर्नुपर्ने माग उनीहरूले गरेका हुन् । सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत व्यवसाय प्रदान गर्ने भनेको विद्युत् डिमान्ड चार्जमा लकडाउनभर सञ्चालनमा नरहेका सो समयको पूरै छुटको व्यवस्था गरिनुपर्ने, बिजुलीको महसुल तिर्ने समय सीमा कम्तिमा पनि एक वर्षका लागि पछाडि सार्नुपर्ने माग गरेका छन् ।
पर्यटन व्यवसाय पूर्व लयमा फर्कन चारदेखि पाँच वर्ष लाग्न सक्ने विज्ञहरूको राय भएको हुँदा पूर्व भार र व्ययसमेत समायोजन गर्ने गरी दुई वर्षको लागि होटल क्षेत्रलाई विद्युत् महशुलमा ५० प्रतिशत छुटको व्यवस्था गरिनु पर्ने, २४ सै घन्टा एउटै दर कायम नराखी निश्चित समयमा स्तरीय विद्युत् दर र अन्य समयमा सहुलियत दरको सुविधा टाइम अफ ‘डे’ को व्यवस्था हुनुपर्ने हानले माग राखेको छ ।
यस्तै विदा पर्यटनलाई कार्यान्वयन गरेर आन्तरिक पर्यटन प्रवर्द्धन गराउनुपर्ने, महामारीले आक्रान्त पारेको पर्यटन उद्योलाई कर छुट दिनुपर्ने, वातावरणीय अध्ययन सहज गर्नुपर्ने, आन्तरिक पर्यटनमार्फत अर्थतन्त्र चलायमान बनाइनुपर्ने, कोभिड–१९ को असर न्यूनीकरणका लागि गठन भएको उच्चस्तरीय तदर्थ समिति र कार्यदलको प्रतिवदेन कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् ।
पर्यटकीय उपजको वर्गीकरण, होटल तथा रिसोर्टको मापदण्ड अन्तर्राष्ट्रिय अभ्यासअनुसार बनाइनुपर्ने, होटलको दर्ता र स्वीकृतिमा सहजीकरण, एकीकृति तथ्यांक प्रणाली, कर्मचारीलाई तालिम र सीमा पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझाउने टोलीमा अध्यक्ष राणासहित महासचिव साजन शाक्य, संघका सीईओ टेकबहादुर महतको पनि सहभागिता थियो ।
FACEBOOK COMMENTS