काठमाडौं, कात्तिक २१ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयअन्तर्गतका सबै आयोजना र डिभिजन सडक कार्यालयले रुग्ण ठेक्का चाँडो टुङ्गाउन निर्देशन दिएका छन् । कोभिड–१९ सङ्क्रमित भएका मन्त्री नेम्वाङले ‘होम आइसोलेशन’ बाटै मन्त्रालयअन्तर्गतका सबै निकायको पहिलो त्रैमासिकको प्रगति विवरणबारे आयोजित भर्चुअल बैठकमा सहभागी भएर जानकारी लिँदै ठेक्कामा भएको ढिलाइबारे बुझेर समाधान निकाल्न जोड दिए ।
मन्त्रालय, विभाग, आयोजनाले पनि निर्माणका काम भइरहेका स्थानमा अनुगमन बढाउनुपर्ने उनको जोड छ । उनले निर्माण व्यावसायीलाई जिम्मेवार बनाउनुपर्ने जनाउँदैे भने, “८०/९० प्रतिशत प्रगति भएकालाई काममा लगाउन सकिएला तर प्रगति नभएका र सम्पर्कमा नआएकालाई कालोसूचीमा राखेर कारवाही अघि बढाउनुपर्छ ।”
मन्त्री नेम्वाङले गत वर्षभन्दा चालु आवको अन्त्यसम्ममा भौतिक र वित्तीय गरी दुवै प्रगति बढाउनुपर्नेमा जोड दिए । पहिलो चौमासिकमा वर्षा, चाडपर्व र कोभिडका कारण काममा बाधा पुगेको उनले बताए । कुनै पनि आयोजनामा रहेका नीतिगत समस्या हल गर्न आफू तयार रहेको उनले बताए । उनका अनुसार सबैले आआफ्नो ठाउँबाट जिम्मेवारपूर्ण रुपले लाग्दा मात्रै प्रगति हासिल हुनसक्छ । उनले भने, “हामीले लक्ष्यअनुसार प्रगति हासिल गर्दा हामी सबैको शीर ठाडो हुनेछ ।”
प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलियाले कोभिड–१९ को समयमा पनि सडक विभागको प्रगति आशालाग्दो देखिएको बताए ।
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले कुनै पनि योजनामा रहेका समस्या अन्तरमन्त्रालय सम्वादमार्फत हल गर्न सकिने भए आफूले तत्काल पहल गर्ने बताए ।
FACEBOOK COMMENTS