काठमाडौं, फागुन २२ – कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई आह्वान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली)का अवसरमा कार्यक्रम तथा भीडभाड नगर्न आग्रह गरेको हो । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको जनाएको छ। प्रशासनले होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको छ ।
‘छिमेकी राष्ट्र चीन हुँदै विश्वभरि महामारीको रुपमा फैलिँदै गरेको कोराना भाइरस (कोभिड-१९) बाट नेपाल उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भएको तथा नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको सन्दर्भमा काडमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, होलीलगायतका पर्वहरुमा सहभागी नहुन अनुरोध गर्दछ,’ जिल्ला प्रशासनले काठमाडौंले विज्ञप्तिमा भनेको छ।
कोरोना भाइरसको महामारी फैलिनबाट जोगिनकै लागि सरकारले चीनलगायत पाँच वटा देशको भिसा अनअराइभल सेवा स्थगित गरेको छ। नेपाल भ्रमण वर्ष स्थगित गरेको छ।
FACEBOOK COMMENTS