काठमाडौं, भदौ १० । नेपाल होस्टल एशोसिएशनको नयाँ नेतृत्वमा भक्ति पाठक समूह निर्वाचित भएको छ । काठमाडौंमा सम्पन्न सातौं वार्षिक साधारणसभामा भएको निर्वाचनमा पाठक समूह निर्वाचित भएको हो । एशोसिएशनको नयाँ नेतृत्वको लागि पाठक समूहको प्रतिद्वन्द्वीका रूपमा गोबिन्द गिरि चुनावी मैदानमा थिए । निवर्तमान कार्यसमितिमा महासचिव रहेका गिरि जम्मा ३ मतको अन्तरले पराजित भएका हुन् ।
एशोसिएशन निर्वाचन समितिका संयोजक सुवास कोइरालाका अनुसार कुल ६९२ जना मतदातामध्ये ५४१ जनाले मतदान गरेका थिए । यसमा भक्ति पाठकले २६३ मत प्राप्त गरे भने गोबिन्द गिरीले २६० मत प्राप्त गरेका थिए । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा अरुण पराजुली विजयी भएका छन् । उनले केदार थापालाई ४९ मत अन्तरले पराजित गरेका हुन् । महिला उपाध्यक्षमा सर्वाधिक मत प्राप्त गर्दै ७३ मतान्तरका साथ निवर्तमान कोषाध्यक्ष उर्मिला भट्टराई (बराल) ले ज्ञानु जोशीलाई पराजित गरेकी छिन् ।
महासचिवमा निवर्तमान काठमाडौं जिल्ला अध्यक्ष रुपाली गुरागाईं (पौडेल)ले ६४ मतान्तरका साथ निवर्तमान ललितपुर जिल्ला अध्यक्ष सुनिता बटाजुलाई पराजित गरेकी छन् । सचिवमा डण्डीप्रसाद गौतमले भिम भण्डारीलाई ५२ मत अन्तरले हराएका छन् भने कोषाध्यक्षमा पूजा जोशीले ६८ मतको अन्तरले बिभय पौडेललाई पराजित गरेकी छिन् । निर्वाचित ६ जना केन्द्रिय सदस्यमा कल्पना आचार्य, राजकुमार केसी, घनश्याम रिसाल, गणेश आचार्य, राधिका घिमिरे र हरिप्रसाद भेटवाल रहेका छन् ।
निर्वाचित १३ सदस्यीय कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ । नेपाल होस्टल एशोसिएशनमा नेपालभरका लगभग ७ सय होस्टल सदस्य रहेका छन् । यसका काठमाडौं, ललितपुर, काभ्रे, चितवन र मोरंग जिल्ला समिति समेत थप भइसकेको छ । सातौं अधिवेशनले केन्द्रीय कार्य समितिमा जिल्लाका अध्यक्षहरू पदेन सदस्य रहनेगरी विधान संशोधन प्रस्ताव समेत पास गरेको छ । नव निर्वाचित अध्यक्ष पाठकका अनुसार होस्टल व्यवसायमा देखिएका विविध समस्याहरुको पहिचान र निराकरण अबको कार्यसमितिको प्राथमिक काम हुनेछ ।
त्यो बाहेक एशोसिएशनको संस्थागत गरिमा र व्यावसायिक मर्यादालाई केन्द्रमा राखेर आगामी दिनका लागी कार्यक्रमहरु तय गरिने पनि उनले जानकारी दिए । भक्ति पाठक समूहले आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेका कुराहरू पूरा गर्नुपर्ने होस्टल व्यवसायी तथा निर्वाचन समितिका संयोजक सुवास कोइरालाको जोड छ । विसं २०६९ सालमा स्थापना भएको एशोसिएशनको यो पाँचौं केन्द्रीय नेतृत्व हो ।
FACEBOOK COMMENTS