काठमाडौं,मंसिर १५ – नेपाल हस्तकला महासङ्घको आयोजनामा राजधानीमा सुरु भएको १७ औँ हस्तकला व्यापार मेलामा दर्शकको घुँईचो लागेको छ ।
महासङ्घको आयोजनामा मंसिर १२ देखि सुरु भएको १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगितामा दर्शकको घुँईचो लागेको हो ।
यसैबिच शनिबार नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले मेलाको अवलोकन गरेका थिए । यस्तै, उपत्यकाभित्रका विभिन्न महानगर तथा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षले पनि मेलाको अवलोकन गरेको महासङ्घका महानिर्देशक श्रीकृष्ण पौडेलले जानकारी दिए ।
मेलाका अवसरमा अमूर्त सांस्कृतिक कला प्रदर्शन गरिएको थियो । यस्तै, कुमारी नृत्य प्रस्तुत गरिएको थियो ।
मेलामा सात प्याभिलियनसहित करीब २०० कक्ष छन् । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानका व्यापारीको पनि बिक्रीकक्ष राखिएको छ ।
हस्तकला प्रदर्शनी उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ–नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले महासङ्घले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको छ । मेला मंसीर १६ गतेसम्म चल्नेछ ।
FACEBOOK COMMENTS