काठमाडौं – ३२ अर्ब रुपैयाँ चिनियाँ अनुदानमा तीन ओटा प्रदेश सरकारले गाई ल्याउने भएका छन् ।
विभिन्न चरणमा प्रदेश २, ३ र गण्डकी प्रदेशका लागि १२ हजार चिनियाँ गाइ ल्याइने भएको हो ।
पहिलो चरणमा ४ हजार गाई प्रदेश ३ मा ल्याइने र त्यसका लागि प्रदेश २ मा घाँस खेती लगाउने गरी व्यवस्थापन मिलाइएको बताइएको छ ।
प्रदेश ३ का भूमि, कृषि तथा पशुपक्षी विकासमन्त्री दावा दोर्जे लामाले चीनबाट गाई ल्याउने ‘प्रोजेक्ट डकुमेन्ट’ स्वीकृत गरिसकेकाले पहिलो चरणमा प्रदेश ३ लाई गाई दिने र गाईका लागि घाँसको व्यवस्था प्रदेश २ मा गर्ने योजना अघि बढेको बताए ।
केहि वर्षअघि नै अनुदानस्वरुप चिनियाँ गाई ल्याउने अभ्यास भए पनि विभिन्न कारण रोकिएकाले सङ्घीय अभ्यासस्वरुप दूधमा आत्मनिर्भर बन्न पनि गाई ल्याउने योजना अघि सारिएको मन्त्री लामाले बताए ।
दूध राम्रो दिने, घाँस, मौसम अनुकूल हुने गरी पहिलो पाइलट प्रोजेक्टस्वरुप ३ नम्बर प्रदेश सरकारले गाई ल्याउने तयारी गरेको हो । कम्तीमा २० लिटर दूध दिने जातका गाई ल्याइने मन्त्री लामाको भनाइ छ । उनका अनुसार, गाई गोठ र घाँस खेतीको व्यवस्था चिनियाँ कम्पनीले नै अनुदान सहयोग गर्नेछ ।
यता, गण्डकी प्रदेशले आफ्नो कृषि नीतिअनुसार दूध, अण्डा र माछामासुमा तीन वर्षभित्र आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । त्यसका लागि चीनबाट गाई ल्याउने योजना अघि बढाइएको गण्डकी प्रदेशका भूमि, कृषि तथा पशुपक्षी विकास मन्त्री लेखबहादुर थापाले बताए ।
चिनियाँ गाई ल्याउने बारेमा स्थानीय तह र निजी क्षेत्रका आफ्ना आफ्नै मतमतान्तर छन् । चिनियाँ गाइका लागि आवश्यक पूर्वाधार, घाँस, दानापानीको पूर्वतयारी बिना ल्याउन नहुने कृषी विज्ञहरुको भनाइ छ ।
प्रदेश सरकारले चीनबाट ल्याउने गाईबाट उत्पादित दूध सहकारी संस्थामार्फत् वितरण गर्ने योजना बनाएको छ ।
FACEBOOK COMMENTS