काठमाडौँ, जेष्ठ ५ – भारतमा केही समयअघि देखिएको कोरोना भाइरसको ट्रिपल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.२) नेपालमा पनि पाइएको छ । अत्यधिक संक्रामक यो नयाँ भेरिएन्टलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत मे १० (वैशाख २७) मा ‘विश्वव्यापी चासोको भेरिएन्ट’ भनी घोषणा गरेको छ ।
रौतहटको चन्द्रपुरमा पीसीआर परीक्षणका लागि स्वाब निकालिँदै। फाइल तस्बिर : कान्तिपुर
सबै उमेर समूहका लागि जोखिमपूर्ण रहेको ट्रिपल म्युटेन्ट (तीन पटक उत्परिवर्तन) भेरिएन्ट नेपालमा व्यापक रूपमा फैलिरहेको अध्ययनले देखाएको छ । सातवटै प्रदेशबाट ‘र्यान्डम’ तरिकाले संकलित ३५ वटा नमुनालाई डब्लूएचओको समन्वयमा भारतमा जिन सिक्वेन्सिङ गर्दा ३४ वटा नमुना अर्थात् ९७ प्रतिशतमा ट्रिपल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.२) र एउटा नमुना अर्थात् तीन प्रतिशतमा डबल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.१) देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । योसँगै हालसम्म मुलुकमा ट्रिपल म्युटेन्ट (बी.१.६१७.२), डबल म्युटेन्ट (बी.१.६१७.१) र बेलायती (बी.१.१.७) गरी तीनवटा भेरिएन्टको पुष्टि भएको हो ।
यसअघि गत चैतको मध्यतिर गरिएको सिक्वेन्सिङमा बेलायती भेरिएन्ट (बी.१.१.७) र भारतमै देखिएको डबल म्युटेन्ट भेरिएन्ट (बी.१.६१७.१) पाइएको थियो । हाल ट्रिपल म्युटेन्ट भेरिएन्ट ३१ देशमा र डबल म्युटेन्ट भेरिएन्ट ३४ देशमा देखिएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सिक्वेन्सिङका लागि सातवटै प्रदेशबाट संक्रमणले मृत्यु भएका र निको भएका व्यक्तिहरूको नमुना संकलन गरिएको थियो । ती नमुना ६ वर्षे बालकदेखि ८४ वर्षेसम्मका व्यक्तिको लिइएको थियो ।
स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले ट्रिपल म्युटेन्ट भेरिएन्टकै कारण चार–पाँच सातायता संक्रमण उच्च दरले बढेको बताए । ‘मुलुकमा अधिकांश संक्रमण यसकै छ,’ उनले भने, ‘यो ट्रिपल भेरिएन्टको सर्ने दर धेरै उच्च देखिएको छ । यसले सबै उमेर समूहलाई असर पार्छ भने कम उमेरका व्यक्तिलाई पनि अक्सिजन चाहिने बनाउँछ ।’
जनस्वास्थ्यका हिसाबले बढी असर पार्ने भएकाले ट्रिपल म्युटेन्टलाई डब्लूएचओले चासोको भेरिएन्ट भनेको हो । विभिन्न मुलुकमा गरिएको प्रारम्भिक अध्ययनमा ट्रिपल म्युटेन्ट भेरिएन्ट बढी संक्रामक हुनुका साथै यसले जटिलता निम्त्याउने र उल्लेख्य मृत्यु गराउने देखिएको छ । नेपालमा यो बेलायती भेरिएन्टभन्दा बढी संक्रामक देखिएको प्रारम्भिक आकलन छ । ‘नेपालमा हालसम्म अफ्रिका (बी.१.३५१) र ब्राजिल (पी.१) भेरिएन्ट पाइएको छैन,’ डा. पौडेलले भने ।
उनले जनस्वास्थ्यको मापदण्ड अब झन् कडाइका साथ पालना गर्नुपर्ने अवस्था आएको बताए । ‘नयाँ भेरिएन्ट व्यापक देखिएकाले सरकारले आइसोलेसन, क्वारेन्टाइन लगायतका जनस्वास्थ्य मापदण्ड पालना गराउने रणनीतिलाई थप कडाइका साथ पालना गर्न जरुरी छ,’ उनले भने ।
FACEBOOK COMMENTS