काठमाडौं,कार्तिक १९ – सनराइज बैंकले बुधबारदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ। बैंकले बुधबारबाट ‘१०.२५ प्रतिशत सनराइज डिबेन्चर २०८३’ नामक ऋणपत्र बिक्रीमा ल्याउने भएको हो । अघि पनि बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको थियो ।
यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन् । बैंकको ऋणपत्र सात वर्ष अवधिको हुनेछ। यसको ब्याज भुक्तानी प्रत्येक ६/६ महिनामा हुनेछ।
बैंकले मंगलबार पत्रकार सम्मेलन गर्दै ऋणपत्र जारी सम्बन्धी जानकारी दिएको छ । सो कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले निरन्तर उच्च प्रतिफल लिइरहने ग्राहकका लागि सनराइजको ऋणपत्र उपयुक्त रहेको बताए। उनले कार्यक्रममा बल्दैं पछिल्लो समय सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरु ‘ब्याज बारे संवेदनशील’ भएको बताउँदै बजार दरभन्दा ०.५० प्रतिशत बिन्दुमाथि ऋणपत्रमा उपलब्ध हुने हुँदा यसलाई सदुपयोग गर्नु पर्ने विचार राखे ।
बैंकले बिक्रीमा ल्याउने ३ अर्ब रुपैयाँको ३० लाख कित्ता जसमध्ये १२ लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन भने सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ६० हजार कित्ता पाउनेछन् । बाँकी रहेको १८ लाख कित्ता बैंक आफैले विभिन्न संघसंस्थालाई बिक्री गर्ने जनाएको छ ।
यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्ने छ । यस ऋणपत्रमा प्रति कित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।
ऋणपत्रका लागि बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ। यसबाहेक आस्वा प्रणालीमार्फत जुनसुकै बैंकबाट पनि आवेदन दिन सकिन्छ।
FACEBOOK COMMENTS