काठमाडौं, पुस ७ – नेपाल पर्वतारोहण संघ (एनएमए)हाल आरोहण गरिँदै आएका तथा पहिचाहन भएर पनि आरोहण नगरिएका ४१४ ओटा हिमशृंखला तथा चुचुरोहरू (पीक) को विस्तृत जानकारीसहितको ‘पीक प्रोफाइल तयार पारेको छ । नेपालको साहसिक पर्यटन प्याकेजका रूपमा रहेका नेपालका हिमशृंखला तथा पर्वतका विषयमा व्यवस्थित रूपमा प्रोफाइल तयार गरिएको यो पहिलोपटक हो ।
नेपाल भ्रमण वर्ष–२०२० को औपचारिक शुरुआत हुनै लाग्दा तयार भएको ‘पीक प्रोफाइल’ पर्वतारोहण संघले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई चाँडै हस्तान्तरण गर्दै छ । हालसम्म आरोहणका लागि उपयुक्त मानिएका ४१४ ओटा चुचुरोबारे व्यवस्थित रूपमा एउटै वेबसाइट पोर्टलबाट जानकारी उपलब्ध गराउने उद्देश्यले ‘पिक प्रोफाइल’ तयार गरिएको हो ।
२०७३ को मध्यबाट पर्वतारोहण संघले मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको सहकार्यमा प्रोफाइल बनाउने काम अगाडि बढाएको थियो । यद्यपि, यसको गृहकार्य भने २०७१ सालदेखि नै शुरू गरिएको थियो ।
संघका अनुसार करीब १ करोड रुपैयाँ खर्च गरेर यो प्रोफाइल तयार गरिएको हो । भ्रमण वर्ष सफल बनाउन पीक प्रोफाइल सहयोगी सावित हुने संघका अधिकारीहरूको भनाइ छ ।
‘यो निकै कठिन काम हो,’ संघका अध्यक्ष सन्तवीर लामाले बताए, ‘भौगोलिक कठिनाइ, नापी, रूट, उचाइ, अवस्थित जिल्लालगायत विषय प्रोफाइलमा समेटी विस्तृत जानकारी गराउनुपर्ने भएकाले समय लागेको हो ।’
‘गत साउनमा प्रोफाइल तयार पार्नासाथ हस्तान्तरण गर्न सकेको भए भ्रमण वर्षको प्रचारप्रसारमा सघाउ पुग्ने थियो,’ लामाले भने, ‘तर, भ्रमण वर्ष शुरू हुनु र यसको प्रचारप्रसार पनि सँगसँगै हुने भएको छ ।’
साधारणतया अहिले पनि विभिन्न वेब पोर्टलबाट नेपालमा रहेका हिमशृंखलाका विषयमा जानकारी उपलब्ध हुने भए पनि पीक प्रोफाइलमार्पmत आन्तरिक तथा बा≈य पर्यटकले विभिन्न हिमाल आरोहणका क्रममा तिर्नुपर्ने रोयल्टीदेखि सिजनअनुसार कुन हिमाल चढ्ने, रूट कुन–कुन हुने भन्ने विस्तृत जानकारी पाउनेछन् । संघका अनुसार यो प्रोफाइल मन्त्रालय, विभाग, बोर्ड र एनएमएको वेबसाइटमा मात्रै राखिनेछ ।
तयार भएका यी प्रोफाइलबाट एकैपटक ३० लाख मानिसले जानकारी लिन सक्नेछन् । संघका अध्यक्ष लामाका अनुसार प्रोफाइलमा समेटिएका हिमचुचुरामध्ये पहिचान भए पनि आरोहण नभएका (अन–क्लाइम) ८६ चुचुरो पनि छन् । प्रोफाइलमा समेटिने चुचुरामध्ये २७ ओटाका लागि आरोहण अनुमति नेपाल पर्वतारोहण संघले दिँदै आएको छ । ती चुचुरोको उचाइ ५ हजार ८ सयदेखि ६ हजार ५ सय मीटर रहेको छ । उक्त प्रोफाइल तयार पार्न नापी विभाग, नेपाल–चीन सीमाक्षेत्रका अधिकारी, आरोही विशेषज्ञलगायतको सहभागिता थियो ।आजको आर्थिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS