काठमाडौं, साउन १९
आगामी भदौ २५ र २६ गते काठमाडौंमा तेस्रो नेपाल पूर्वाधार सम्मेलन २०१९ हुने भएको छ । नेपाल उद्योग परिसंघले राजधानीमा पत्रकार सम्मेलन गरी नेपालको पूर्वाधार सेवाको सुधारबाट उत्पादकत्वमा हुने वृद्धिले आर्थिक– सामाजिक विकासमा समेत दिगो प्रभाव पार्ने यथार्थलाई मध्यनजर गर्दै यस वर्ष पनि पूर्वाधार सम्मेलनको आयोजना गर्न लागेको जनाएको हो ।
पूर्वाधार विकासका लागि आवश्यक सबै पक्षबारे छलफल हुने गरी सम्मेलन गर्न लागिएको परिसंघका अध्यक्ष सतिश कुमार मोरले जानकारी दिए । उनले देशको अर्थतन्त्रलाई गतिशील बनाउन बलियो भौतिक पूर्वाधारको विकास हुनुपर्ने बताए।
अध्यक्ष मोरले अघिल्ला दुई सम्मेलनले आगामी २०३० सम्म नेपालको पूर्वाधारको अवस्था तथा अबको पूर्वाधारको लागि आवश्यक लगानी यकिन गर्न बृहत तथा गहन अध्ययन गर्नुपर्ने कुरा औंल्याउदै त्यसैमा केन्द्रित रहेर परिसंघले विकास अध्ययन केन्द्रसँगको सहकार्यमा यस्तो अध्ययन पुरा भई प्रतिवेदन पनि तयार भएको बताए। उनले सम्मेलनले पूर्वाधार विकासका लागि आवश्यक लगानीको वातावरण निर्माण गर्न सघाउ पुर्याउने विश्वास पनि व्यक्त गरे ।
दुई दिने यस सम्मेलनमा देशभित्र र बाह्य देशहरुका गरी ५०० भन्दा बढी लगानीकर्ताहरुको सहभागी हुने आयोजकले बताए। सम्मेलनमा प्रधानमन्त्री ओलीको प्रमुख अतिथ्यता रहने छ भने मित्रराष्ट्र दक्षिण कोरियाका पुर्व प्रधानमन्त्री विशेष अथितिका रुपमा रहने छन्। नेपालको पूर्वाधार विकासको बाटो र त्यसका लागि आवश्यक पर्ने लगानीको जोहो गर्न सम्मेलन सफल हुने विश्वास पनि आयोजकहरुले व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS