काठमाण्डौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमका प्राविधिक सहायक हरिगोपाल आचार्य, लेखापाल डिल्लीप्रसाद आचार्य र नायब सुब्बा दुर्गाप्रसाद पौडेलले १० लाख ८६ हजार ७ सय २५ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको ठहर छ ।
कार्यालयले अलैंचीको बिरुवा खरिद गरी कृषकलाई वितरण गर्ने क्रममा उनीहरूले कमिसन दिने व्यक्तिलाई मात्र दिएको अभियोगपत्रमा उल्लेख छ ।
यसैगरी आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका खरिदार सञ्जयकुमार ठाकुरविरुद्ध समेत मुद्दा दायर गरेको छ ।
ठाकुरमाथि जग्गा रजिस्ट्रेसन पास गर्दा लाग्ने राजस्व छुट गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार घूस लिएको आरोप छ ।
आयोगले प्रगति माध्यमिक विद्यालय रूपन्देहीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लेखनाथ शर्माविरुद्ध समेत शुक्रबार नै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शर्माको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको आयोगले जनाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS