काठमाडौं, भदौ १५ – पूर्वी नवलपरासी कावासोती–३ शिव मन्दिर गुम्बाचोकका ५४ वर्षीय होमबहादुर गुरुङको स्वास्थ्य अवस्था गम्भीर भएपछि परिवारले शनिबार राति उपचारका लागि भरतपुर ल्याए । रातभर साना–ठूला निजी तथा सरकारी अस्पताल चहारे ।
भरतपुरको सरकारी अस्पतालमा केहीबेर बसेर चितवन मेडिकल कलेज (सीएमसी) को शिक्षण अस्पताल आए । धेरैबेर एम्बुलेन्समै बसेपछि नर्स र डाक्टर आएर भित्र त लगे तर केहीबेरमै होमबहादुरले प्राण त्यागे ।
‘डाक्टरहरूले बेलैमा हेरेको भए चित्त बुझाउने बाटो हुन्थ्यो होला तर हेर्न मानेनन्,’ उपचारका लागि सँगै आएका होमबहादुरका भाइ टेकप्रसादले भने ।
होमबहादुर कलेजोका बिरामी थिए । शनिबार उनलाई असजिलो भएपछि कावासोतीकै कालीगण्डकी अस्पताल लगिएको थियो । दुई घण्टा राख्दा पनि होस नआएपछि त्यहाँका स्वास्थ्यकर्मीले भरतपुर लैजान सिफारिस गरे । एम्बुलेन्स खोजेर उनीहरू भरतपुर हुइँकिए । ‘सुरुमै सीएमसी आयौं । राति १ बजेको थियो होला,’ टेकप्रसादले सुनाए, ‘बिरामीलाई आईसीयू चाहिने रहेछ । यहाँ छैन अन्तै लैजानु भने ।’ त्यसपछि नारायणी सामुदायिक अस्पताल पुगेका उनीहरूलाई डाक्टरहरू क्वारेन्टाइनमा बसेको जानकारी गराउँदै आईसीयू भएको अस्पताल लैजान भनियो । त्यसपछि पुरानो मेडिकल कलेज (सीएमएस) गए । ‘त्यहाँ पनि आईसीयू छैन भने । अब भएन भनेर फेरि सीएमसीमै आयौं ।’ टेकप्रसादले भने, ‘नर्सहरू आएर एम्बुलेन्सको ढोका खोलेर हेर्नुभयो । आईसीयू नभएको हुँदा राख्न सकिन्न भन्नुभयो ।’
त्यसपछि उनीहरू भरतपुरको सरकारी अस्पताल गए । त्यहाँ पनि आईसीयू नभएको कुरा आयो । निराश भएर बिरामीलाई एम्बुलेन्सबाट नझारी सरकारी अस्पतालमै बसे । लगभग अढाई घण्टा त्यसरी बसेपछि उज्यालो भएको र एक महिला स्वास्थ्यकर्मी आएपछि आफ्नो समस्या राखेको टेकप्रसादले बताए । ‘उहाँले हाम्रो कुरा र समस्या राम्रोसँग सुन्नुभयो । आईसीयू खाली नभएका कारण बिरामी राख्न नसक्ने तर इमर्जेन्सीमा राखेर आवश्यक केही उपचार गर्ने बताउनुभयो,’ टेकप्रसादले सुनाए । सरकारी अस्पतालको इमर्जेन्सीमा राखेर बिरामीका आफन्त आईसीयूकै सोधखोजमा लागे । ‘सीएमसीबाट आईसीयू छ आउनु भनेर सन्देश आएपछि हामी फेरि त्यहीं गयौं,’ टेकप्रसादले भने ।
उनका अनुसार सरकारी अस्पतालमा हुँदासम्म बिरामीलाई ज्वरो आएको थिएन । सीएमसीमा पुर्याएपछि एक्कासि ज्वरो आयो । तत्कालै बिरामीलाई भित्र नलगी एम्बुलेन्समै राखियो । करिब डेढ घण्टाजति एम्बुलेन्समै रहँदा होमबहादुर छटपटाउन थाले । ‘दाइ छटपटिन थालेपछि भाउजू र हामी रुन, कराउन थाल्यौं । त्यसपछि एक नर्स दौडिँदै आएर दाइको छाती थिच्न सुरु गरिन् । अरू डाक्टर पनि आए ।’ उनले भने, ‘त्यसपछि बल्ल भित्र लगे । केही बेरपछि नै दाइलाई बचाउन सकिएन भन्ने खबर ल्याए ।’
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा.दयाराम लम्सालले अस्पतालमा ल्याएपछि तुरुन्तै हेरेको र बचाउन कोसिस गर्दा असफल भएको बताए । ‘भरतपुर अस्पतालबाट रिफर भएर यहाँ आउनुभएको हो । त्यसअघि दुई–चारवटा अस्पताल घुम्नुपरेको रहेछ । यहाँ आएपछि त हामीले सेवा दिएकै हो,’ डा.लम्सालले भने । चितवनमा पछिल्लो समय कोरोना संक्रमण तीव्र बढेपछि आईसीयू र भेन्टिलेटर अभाव हुन थालेको चिकित्सकहरू बताउँछन् ।
खाना खाने क्रममा भात सर्किएर सिकिस्त भएकी उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सिर्वानीकी एक वृद्धाको विराटनगरका ८ वटा अस्पताल चहार्दा पनि उपचार नपाएर मृत्यु भएको छ । कोरोना संक्रमणको आशंकामा अस्पतालहरूले भर्ना गर्न नमानेपछि ६५ वर्षीया डम्बरकुमारी बस्नेतलाई परिवारले घर ल्याएका थिए । उनको आइतबार घरमै मृत्यु भएको हो । शनिबार साँझ खाना सर्किएपछि बेहोस भएकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार लगिएको थियो । थप उपचारका लागि विराटनगर पठाइएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
FACEBOOK COMMENTS