काठमाडौं, मंसिर २३ – ९० वर्षीया वृद्धाले कोरोना भाइरसविरूद्धको खोप लगाएकी छन्। औषधी निर्माता कम्पनी फाइजर/ बायोएनटेक कम्पनीले बनाएको कोरोनाविरूद्धको खोप लगाउने उनी पहिलो व्यक्ति बनेकी छिन्।
बेलायत सरकारले कोरोनाविरूद्धको खोप वितरण गर्न अनुमति दिएपछि राष्ट्रिय स्वास्थ्य सेवा मंगलबार खोप वितरण गर्ने कार्यक्रम आयोजना गरेको द गार्डियनले जनाएको छ। मंगलबार बिहान पौन ६ बजेतिर मार्गरेट किनानले खोप लगाएर खोप लगाउने कार्यक्रमको उद्घाटन भएको थियो।
बेलायतका ५० वटा अस्पतालमा खोप लगाउन दिइएको छ। त्यहाँ भर्ना भएका ८० वर्ष माथिका बिरामी र डिस्चार्ज हुन लागेका बिरामीहरूलाई सुरूमा खोप दिइनेछ। किनानले कोभेन्ट्रीको युनिभर्सिटी हस्पिटलका नर्स मे पार्सन्सबाट खोप लिएकी हुन्।
किनान पहिले ज्वेलरी पसलमा काम गर्थिन् भने चार वर्षअघिमात्रै सन्यास लिएकी हुन्। उनी अर्को हप्ता ९१ वर्ष पुग्दैछिन्। उनकी एक छोरी, एक छोरा र चार नातिनातिना छन्।
‘कोरोना भाइरसविरूद्धको खोप लगाउने पहिलो व्यक्ति भएकोमा मलाई विशेष महशुस भएको छ, यो मैले चाहेको जन्मदिनको उत्तम गिफ्ट हो किनकी एक्लै बसेको करिब एक वर्षपछि म मेरो परिवार र साथीहरू नयाँ वर्षमा समय बिताउन सक्छु,’ उनले भनिन्। उनले आफ्नी नर्स मे पार्सन्स र एनएचएसका कर्मचारीहरूलाई पनि धन्यवाद दिइन्।
FACEBOOK COMMENTS