सिन्धुपाल्चोक, आश्विन १२ – माथिबाट बगिरहेका छाल, वरिपरि चिटिक्क देखिने चट्टानी शृंखला । बाह्रबिसे नगरपालिका–८ र ९ को सीमा क्षेत्रमा रहेको अँधेरी खोलास्थित झरनाको यो दृश्यले जोकोहीलाई मोहित बनाउँछ ।
पछिल्लो समय बिहानदेखि बेलुकासम्म अँधेरी झरनामुनि रमाएर सेल्फी लिने, भिडियो र तस्बिर खिच्ने, टिकटक बनाउनेदेखि लाइभ गर्नेको लर्को नै लाग्न थालेको छ ।
बाह्रबिसे नगर क्षेत्रको राम्चे र घुम्थाङको मुख्य नदी अँधेरी खोलाको बगरभर झरना हेर्ने योजना बनाएर राजधानीदेखि नजिकका अन्य पर्यटकसमेत आउने गरेको बाह्रबिसे–९ का अध्यक्ष सानु लामाले जानकारी दिए । ‘काभ्रेको तीनाधाराझैं अँधेरी झरना भाइरल भइसकेको छ, यसले पर्यटकीय आकर्षणलाई चौगुना बढाएको छ,’ उनले भने । अँधेरी क्षेत्रको तल्लो भेगभर पौडी र बगरको पहरा चढ्दै झरनाको सौन्दर्य आनन्द लिन दैनिक ५० जना आउने गरेको उनले सुनाए । बाह्रबिसे बजारबाट १० किमिको दूरीको यात्रापछि अँधेरी झरना पुग्न सकिन्छ । झरनासँगै किराती सभ्यताका पुर्खा गोल्मा राजाको ऐतिहासिक अवशेष रहेको राम्चेको गोल्माथान, गुफा, कलात्मक मूर्ति, गोल्मा राजाको सन्दुसलगायतका संरचना अवलोकन गर्न सकिनेछ । ‘झरनालाई अन्य पर्यटकीय क्षेत्रसँग जोड्ने योजना बनाएका छौं । यसले केही सम्भावना दिएको छ,’ उनले भने ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS