श्रावण २०, काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुमा गरिएको कोरोना परीक्षणमा १५ जनामा पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो ।
१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो । महाशाखाका महानिर्देशक डा। वासुदेव पाण्डेका अनुसार संक्रमण देखिएकामा अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छ । ुहामीले पाएको प्रारम्भिक जानकारी अनुसार १५ जनामा संक्रमण देखिएको छ । त्यसमा सुरक्षाकर्मीको संख्या धेरै छ ।ु
अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको हो ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार, स्वाब परिक्षणका लागि दिइएको भएपनि त्यसको नतिजा आएकोबारे औपचारिक जानकारी आएको छैन । ‘केहीलाई देखिएको भनेपछि उहाँहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने र त्यसअनुसार थप अरु काम हुन्छ होला,’ उनले भने, ‘हामीले पनि भर्खरै थाह पाएकाले थप बुझ्ने प्रयास गरिरहेका छौं ।’
FACEBOOK COMMENTS