काठमाडौं,माघ ३- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाले गति लिने भएको छ । पहिलो चरणमा एक लाख २० हजार रुख काट्ने विषयलाई लिएर रोकिएको विमानस्थल निर्माणको लागि लगानी बोर्डले सार्वजनिक रुपमा प्रस्ताव माग गरेसँगै निर्माणले गति लिएको हो ।
लगानी बोर्ड नेपालले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि स्वीटजरल्यान्डको जुरिच एयरपोर्ट ईन्टरनेशनल एजीलाई सर्ट लिस्टमा राख्दै शुक्रवार सूचना प्रकाशित गरेको छ ।
सार्वजनिक सूचनामा कम्पनीलाई फागुन १८ गतेसम्म तोकिएको ढाँचा अनुरुप प्रस्ताव पेश गर्न आब्हान गरिएको छ ।
यो प्रस्तावमा बोर्डले फागुन ४ गते छलफल गर्नेछ । ०५०र५१ सालबाटै सुरु भएको निजगढ विमानस्थल चर्चा अहिलेसम्म चर्चामै सीमित छ ।
नेपाल सरकारले २०७५ चैत १५ र १६ मा आयोजना गरेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा निजगढ विमानस्थल निर्माणको प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।
उक्त आह्वान अनुसार ६ कम्पनीले इच्छा देखाएका थिए । ३ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको विमानस्थल निर्माणका लागि जुरिचका अलवा नेपाली कम्पनी म्याट्रिक्स इन्टरप्राइजेजले पनि आसय पत्र बुझाएको थियो ।
त्यस्तै चीनका दुई सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ र चाइना एयरपोर्ट कन्स्ट्रक्सनले पनि आसय पत्र बुझाएका थिए । आसयपत्र बुझाएका कम्पनीमध्ये जुरिच इन्टरनेशनल मात्रै अन्तिम छनौटमा परेको थियो ।
प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा २०७६ असोज ५ गते बसेको लगानी बोर्ड बैठकले जुरिचलाई छनौट गरेको थियो ।
हाल निजगढ विमानस्थल निर्माणका लागि रुख कटान गर्ने सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधिन रहेको छ ।
FACEBOOK COMMENTS