काठमाडौं– नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा हुन लागेको १४औं ‘नाडा अटो शो २०१९’ मंगलबार देखि सुरु भएको छ । काठमाडौंको भृकुटीमा आयोजना गरिएको उक्त शो ६ दिनसम्म संचालन हुने मेला नाडाले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले सरकारको पहिलो प्राथमिकतामा विद्युतीय सवारी र गाडी एसेम्बलिङ उद्योग रहेको बताएका छन् । मन्त्री खतिवडाले भने ‘कुनै पनि देश औद्योगिकरणतर्फ जाने नै एसेम्बली प्लान्टबाट हो। हामीले विद्युतीय गाडीको एसेम्बली प्लान्टमा प्राथमकिता दिएका टौं। विद्युतीय सवारी उत्पादनका लागि २५ प्रतिशत सरकारी संरक्षण रहनेछ।’
अर्थमन्त्रीले सार्वजनिक सवारीसाधन विद्युतीय बनाइने तथा बाँकी सवारी साधन हाइब्रिडमा लाने समेत बताए। उनले आयातित उर्जाको सट्टा आफ्नै देशको उर्जा प्रयोग गरेर हाइब्रिड गाडी संचालन गर्नुपर्ने धारणा राखे।
प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा प्रदायकहरु गरी ९५ वटा ब्राण्डहरुको सहभागिता रहने छ । यस शो मा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरु एक मात्र भव्य प्रदर्शनी भएको नाडाले जनाएको छ ।
प्रदर्शनीमा ठूला तथा साना गरी करिब १६० वटा स्टलहरु रहने छन् । उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन हुने भएको छ । यस पटकको नाडा अटो शोमा अटो कम्पोनेन्टका स्टलहरु तथा फुडस्टलहरु बगैंचामा रहने छन् ।
FACEBOOK COMMENTS