काठमाडौं – सवारीसाधनमा आकर्षण बढेसँगै बैङ्क तथा वित्तीय संस्थाको पनि लगानी बढेको छ ।
२०७५ असार मसान्तसम्मको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार १७ खर्ब १ अर्ब ५ करोड ४० लाख रुपैयाँबराबरको सवारी कर्जा प्रवाह भएको छ ।
यो आर्थिक वर्ष २०७४ को तुलनामा १३ दशमलव ७३ प्रतिशत बढी हो । बैङ्कबाट ऋण लिएर गाडी किन्ने, साथै आफ्नो आम्दानीअनुसार मासिक रूपमा किस्ता तिर्ने प्रचलन वृद्धि हुँदा बैङ्कहरूको सवारी कर्जा बढ्न थालेको हो । तर, अघिल्लो वर्षका तुलनामा भने यस्तो कर्जाको वृद्धिदर घटेको छ । रकमको आकारमा भने बढेको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७४ असार मसान्तमा यतो कर्जा १५ खर्ब रुपैयाँ बढेको थियो । यस्तै, २०७३ असार मसान्तमा १ खर्ब १० अर्ब र २०७२ मा ८० अर्ब रुपैयाँको अटो कर्जा प्रवाह भएको थियो ।
केन्द्रीय बैङ्कले अटो लोनलाई अनुत्पादनमूलक रूपमा वर्गीकरण गरेको छ । तर, बैङ्कर तथा उद्योगी तथा व्यवसायीले भने सवारीसाधनका कारण उत्पादनमा वृद्धि हुने भएकाले यसलाई उत्पादनमूलक क्षेत्रमा राख्न दबाब दिँदै आएका छन् ।
वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीमध्ये अधिकांश बैङ्कले आकर्षक ब्याजदरसहित अटो कर्जामा लगानी गरिरहेका छन् । यता, सरकारले कृषि तथा ऊर्जा, पर्यटनलगायत प्राथमिकता क्षेत्रमा लगानी बढाउन बैङ्कलाई दबाब दिँदै आएको छ ।
यद्यपि, सवारी कर्जा पनि लगानीको आकर्षक क्षेत्र रहेकाले बैङ्क तथा वित्तीय संस्थाले सर्वसाधारणलाई सो शीर्षकअन्तर्गत कर्जा प्रवाहको दायरा पनि खुकुलो बनाएको बैङ्करहरूले बताउँदै आएका छन् ।
हाल बजारमा यस्तो प्रकारको कर्जा प्रवाह वार्षिक करीब ९ प्रतिशतदेखि बढीमा साढे १२ प्रतिशतसम्मको हाराहारीको ब्याजदरमा उक्त सेवा उपलब्ध गराएका छन् । विशेष गरेर बैङ्कहरूले नाडा प्रदर्शनीलाई लक्षित गरी साविकको भन्दा केही कम तथा आकर्षक ब्याजदरमा समेत सवारी कर्जा प्रवाह गरेको बैङ्करको भनाइ छ ।
FACEBOOK COMMENTS