काठमाडौँ — औषधि, खाद्यपदार्थ, पिउने पानी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक सामग्री बिक्री जारी राख्न निजी क्षेत्रका संघसंस्थाहरुले सम्बद्ध व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायतले विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा जारी राख्न र अन्य उद्योग व्यवसायका कर्मचारीलाई बिदा दिई सरकारले गरेको ‘लक डाउन’ निर्णयमा सघाउन अपिल गरेका हुन्।
महासंघले औषधि एवं जनस्वास्थ्यसँग सम्बन्धित सामग्री उत्पादन, बिक्रीवितरण गर्न भनेको छ। ‘खाद्य पदार्थ, दुग्धपदार्थ, पिउने पानीसँग सम्बन्धित उद्योग, अस्पताल तथा चिकित्सा सेवासँग सम्बन्धित उद्योग, इन्टरनेट, सुरक्षा तथा सरसफाइसँग सम्बन्धित उद्योग, पेट्रोलियम पदार्थ तथा ग्याससँग सम्बन्धित उद्योग सुरक्षाका सबै उपाय अवलम्बन गरी यथावत् रूपमा सञ्चालन गर्न’ महासंघले विज्ञप्तिमा भनेको छ, ‘बाँकी सबै उद्योग प्रतिष्ठानहरू बन्द गरी त्यहाँ कार्यरत कामदार कर्मचारीहरूलाई बिदा दिई सरकारले गरेको उक्त निर्णयलाई सफल पार्न महासंघ आफ्ना मातहतका सबै सदस्य संघ÷संस्था÷उद्योग प्रतिष्ठानहरूलाई हार्दिक अपिल गर्दछ।’
अत्यावश्यक उद्योग व्यवसाय सञ्चालनका क्रममा कुनै समस्या उत्पन्न भएमा स्थानीय प्रशासनसँग सम्पर्क एवं समन्वय गर्नसमेत उसले सुझाएको छ। परिसंघले अत्यावश्यक सेवा, उत्पादन तथा उत्पादन क्षेत्रबाहेकका उद्योग तथा व्यवसायको काम स्थगित गरेर कोभिड–१९ संक्रमण फैलन रोक्ने सरकारको कदममा सघाउन आफ्ना उद्यँेग, प्रतिष्ठान एवं संघसंस्थालाई अनुरोध गरेको छ। ‘स्वास्थ्य संकटको यो घडीमा आआफ्ना तर्फबाट स्वास्थ्य तथा स्वास्थ्यकर्मीको हौसला बढाउने काममा आवश्यक सहयोग गर्न परिसंघका अध्यक्ष सतीशकुमार मोरले विशेष अनुरोध गर्नुभएको छ,’ परिसंघको विज्ञप्तिमा भनिएको छ।
अत्यावश्यक सेवा तथा वस्तुको उत्पादन र वितरण चुुस्त बनाउन भन्सार नाकाहरुमा ग्रिन च्यानल स्थापनामा पहल थाल्न र कार्गो हवाई सेवा निरन्तर राख्नसमेत परिसंघले सरकारलाई ध्यानाकर्षण गराएको छ। ‘भारत र चीनतर्फका नाकामा रोकिएका कच्चा तथा तयारी वस्तुको अनलोड र ढुवानीको बन्दोबस्त मिलाई अत्यावश्यक वस्तुको उत्पादन र वितरण प्रणालीलाई सुचारु राख्न आवश्यक व्यवस्था मिलाउनुपर्नेमा समेत परिसंघले जोड दिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
FACEBOOK COMMENTS