कुनै समय थियो, दसैंमा बजारमा ठूलै भीडभाड हुन्थ्यो। वर्षभरीमै एकपटक समय निकालेर सामान किन्न पसल-पसल चहार्थे। गाउँतिरका मानिस सामान किन्न भन्दै बेंसी झर्थे। तर, समय बदलियो।
सूचना प्रविधिको विकासले बजारलाई भर्चुअल बनाइदिएको छ। अहिले घरमै बसी आफूलाई मन लागेको सामान सुलभ मूल्यमा अर्डर गर्न सकिन्छ। जमाना अनलाइन सपिङको छ।
घरमै बसी एक क्लिकको भरमा सामान अर्डर हुन्छ। व्यवसायीले प्राप्त अर्डरको आधारमा ग्राहकका घरदैलोसम्म सामान पुर्याउँछन्। यसले बजारसम्म जाने-डुल्ने-फर्कने समयको बचत गरेको छ। साथै बजारलाई छिटोछरितो समेत बनाएको छ।
दसैंमा भीडभाड हुने जमानाको क्रमशः अन्त्य हुँदै गएको अनलाइन सपिङ कम्पनी रारा मार्टका प्रमुख कार्यकारी अधिकृत जीवन अमगाईं बताउँछन्। उनका अनुसार दसैंमा बजार डुली हिड्ने ग्राहकले अनलाइनबाट अर्डर लिने गरेका छन्। उनी भन्छन्, ‘हाम्रो अनलाइनको प्रयोग गरेर सामान अर्डर गर्नेको संख्या दिनप्रतिदिन बढ्दो छ।’
दसैंलाई लक्ष्य गरेर रारा मार्टले स्वास्थ्य बिमा कार्यक्रम सार्वजनिक गरेको छ। कम्पनीले ‘सपिङ पनि, निःशुल्क स्वास्थ्य बिमा पनि’ नामको नयाँ स्किमअन्तर्गत २० हजार रुपैयाँसम्मका सामान खरिदमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा गर्ने योजना ल्याएको छ।
दैनिक जीवनमा आवश्यक पर्ने करिब २० हजार प्रडक्ट र १ हजारभन्दा बढी भेन्डर छन्। सार्वजनिक गरिएको उक्त योजना सपिङ क्षेत्रमै पहिलोपटक आएको दाबीसमेत कम्पनीको छ।
कम्पनीका अनुसार सार्वजनिक गरिएको उक्त योजना प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग सहकार्यमा हो। उक्त योजनाअनुसार कम्पनीले अनलाइनमा राखेका उत्पादन सपिङ गर्दा निःशुल्क स्वास्थ्य बिमा हुने रारामार्टको दाबी छ।
नेपालमा करिब ६ महिना अघिदेखि सुरु भएको उक्त रारामार्टबाट कुनै पनि सामान खरिद गर्दा खरिदकर्ता र उसको परिवारका सदस्यले निःशुल्क स्वास्थ्य बिमा सुविधाअन्तर्गत न्यूनतम २५ हजार रुपैयाँ र अधिकतम १ लाख रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्न सक्नेछन्। स्वास्थ्य बिमाका लागि आफूले जति धेरै सपिङ गर्यो त्यहीँअनुसार स्वास्थ्य बिमा सेवा सुविधा पनि लिन सकिन्छ।
रारा मार्टले अहिले चक्रपथ क्षेत्रभित्रका ग्राहकलाई फ्री डेलिभरीको व्यवस्था गरेको छ। कम्पनीका अनुसार रारा मार्टमा रहेका उत्पादनमध्ये जुनसुकै उत्पादन खरिद गरे पनि उक्त सुविधा लिन सकिनेछ। अध्यक्ष पाण्डेका अनुसार यो योजनाअन्तर्गत नेपाल तथा भारतका जुनसुकै अस्पतालबाट उपचार गराउँदा लाग्ने स्वास्थ्य उपचार खर्चमा बिमा रकमको सीमाभित्र रही विद्यमान व्यवस्थाअनुरूप उपचार खर्च प्राप्त गर्न सकिनेछ।
भदौ २९ देखि नै दसैंमा खुसियाली डेलिवर गर्ने बाचा लिएर अनलाइन सपिङ साइट दराजले वर्षकै सबैभन्दा ठूलो सेल-दराज दसैं धमाका अफर ल्याएको थियो। यो अभियान असोज १३ सम्म हुने भन्दै अभियानअन्तर्गत उपभोक्ताले ६० प्रतिशतसम्म छुट भएको मेगा डिल्स, दसैं दक्षिणा, मिस्ट्री बक्स, कलेक्टिबल भौचर, गेम जोन, तथा अन्य धेरै आकर्षक लाभ पाउन सक्ने जनाएको थियो।
उपभोक्ताको किनमेल अनुभवलाई अझै रमाइलो बनाउनु दराजको प्राथमिकता हो भन्दै दराजले लोकप्रिय ‘सेक-सेक गेम’ फेरि यस अभियानमा लिएर आएको जनाएको थियो।
घरायसी सामानदेखि गाडीसम्म अनलाइनमै
अनलाइन सपिङ साइट दराज डटकमले गाडी र मोटरसाइकल पनि बिक्री सुरु गरेको छ। असोज ५ मा दसैंको अवसर पारी अब गाडी पनि बेच्ने कम्पनीले घोषणा गरेको थियो। सिप्रदी ट्रेडिङसँगको सहकार्यमा दराजले सुपथ मूल्यमा नेपालभर टाटा टियागो गाडी बेच्ने भएको छ। दराजमा यो गाडीको सुरुवाती मूल्य २० लाख ९५ हजार छ।
दराजले यसअघि नै मोटरसाइकल बिक्री गरिरहेको छ। कम्पनीले टीभीएस मोटरसाइकल तथा स्कुटरमा आकर्षक अफर ल्याएको छ। टीभीएस अपाचे आरटीआर १८० २भी किन्दा ग्राहकले ३२ इन्चको टीभी सित्तैमा पाइने अफर यसको छ। त्यस्तै आरटीआर ३१० किन्दा २५ हजार रुपैयाँ नगद छुट पाउनेछन्। यसका साथै हेलमेट, पञ्जा तथा कभर पनि निःशुल्क पाउने कम्पनीले बताएको छ।
हेर्दा सामान्यजस्तो लागे पनि अनलाइन सपिङ अहिले सञ्चालकका लागि आम्दानीको र ग्राहकका लागि झन्झटबाट मुक्ति पाउने गतिलो उपाय बनेको छ। सपिङ मलमा आकर्षण बढेसँगै अनलाइनबाट सपिङ गर्नेको संख्या पनि पछिल्ला दिन बढ्दै गएको छ। अनलाइनमा फेसबुक पेज खोलेर सम्पर्कका लागि आफैले बोक्ने मोबाइल नम्बरकै भरमा अनलाइनमार्फत दैनिक लाखौंको व्यापार हुने गरेका छन्। लाखौंको व्यापारबाट दैनिक हजारौं रुपैयाँ नाफा यसका सञ्चालकले लिने गरेका छन्।
अनलाइन सपिङमा ग्राहकले फेसबुक पेजमार्फत आफूलाई मन लागेको सामान म्यासेन्जर वा त्यहाँ राखिएको टेलिफोन नम्बरमार्फत सम्पर्क गरेर सम्बन्धित व्यक्तिसँग अर्डर गर्नुपर्ने हुन्छ। यसरी अर्डर गरेपछि ग्राहकको ठेगानामा सम्बन्धित व्यवसायी सामान लिएर आइपुग्छन्। ग्राहकले फेसबुक पेजमा लाइक गरेअनुसार सामान नपाएमा सामान किन्दिन भन्न पनि पाउँछन्।
बार्गेनिङ गर्नु नपर्ने
अन्य पसलमा सामान किन्दा थोरै मूल्यका सामानलाई पनि चर्को मूल्य भन्ने र अत्यधिक छुट गराएर बिक्री गरे पनि सामानको वास्तविक मूल्यमा ४०÷५० प्रतिशतसम्म नाफा हुने गर्छ। यस्तो अवस्थामा बार्गेनिङ गर्न नसक्ने ग्राहकले चर्को मूल्य तिर्नुपर्ने हुन्छ। अनलाइन सपिङमा सबै प्रकारका ग्राहकलाई एकै प्रकारको मूल्य राखिन्छ। यसले गर्दा बार्गेनिङ गर्न सक्ने र अधिक मूल्य पर्यो भन्ने ग्राहक तथा सामान खोज्दै पसलपसल चहार्न नभ्याउनेका लागि अनलाइन सपिङ वरदानै हो।
अनलाइन सपिङको आकर्षक पक्ष भनेको यसमा सामानको मूल्यमा बार्गेनिङ गर्ने झन्झटबाट मुक्ति पाउनु हो। फेसबुक तथा वेबसाइटमा पेजमा डिस्प्ले गरिएका सामानसँगै मूल्य पनि लेखिएको हुन्छ। ग्राहकले सामान मन परेमा त्यहाँ लेखिएको मूल्य पूरै तिर्नुपर्छ। यसमा कुनै छुटको व्यवस्था गरिँदैन। केही अनलाइन सपिङ व्यवसायीले निश्चित समय तोकेर सामान साट्न पाउने व्यवस्था पनि गरेका हुन्छन्। तर, पैसा भने फिर्ता पाइँदैन।
अहिले विदेशमा बस्नेले आफ्ना आमाबुवा र आफन्तलाई दसैंमा सामान किनिदने सजिलो माध्यम बनेको छ-अनलाइन सपिङ। अमेरिकामा बस्ने छोराले स्वदेशमा रहेका आमाबाबुलाई दसैंमा लत्ताकपडा, खसी, चामल, चिउराको जोहो कसरी गरिदिने ? पहिले मनी ट्रान्सफरबाट खर्च पठाइदिनुको विकल्प नै थिएन। अब कसैले चिन्ता लिनै पर्दैन। विदेशमा बसेकाले घरमा सामान पठाउन अनलाइनकै प्रयोग गर्न सक्छन्।
दसैंमा अनलाइन किनमेल साइटले आफ्नो पेजमा घरघरमा आवश्यक गर्ने सामग्री राखिसकेका छन्। फेन्सी ड्रेसदेखि, चस्मा, टीभी, फ्रिज, मोबाइल, वासिङ मेसिन, मदिरालगायत अनगिन्ती सामग्री अनलाइनबाट किन्न पाइन्छ। यस साइटमा सपिङ गर्दा पैसा मोबाइल बालेट तथा इबैंकिङको सुविधा लिएर सिधै भुक्तानी गर्न सकिन्छ। यसले नगद बोक्न र कारोबार गर्नुपर्ने झन्झटबाट सहजता मिल्छ।
ग्राहक आकर्षण गर्न छुटैछुट
प्रायः सबै अनलाइनलाई दसैं सामान बेच्नु, ग्राहक आकर्षण गर्नु र अनलाइनको ब्रान्डिङ गर्ने सबैभन्दा ठूलो मौका हो। यस्तै मौकालाई अनलाइन सपिङ सेन्टरले अधिकतम प्रयोग गर्न थालेका छन्। इसेवा पसलले अनलाइनमार्फत हुने हरेक सपिङमा छुट अफर राखेको छ। यो अनलाइनले नगद छुटदेखि पाँच प्रतिशत क्यास ब्याकसम्मको सुविधा दिएको छ। अनलाइन एयर टिकेटिङमा भने इसेवाबाटै सुरु भएको र यसले बम्पर प्राइजसम्मको अफर दिइरहेको छ। यस्तै इसेवा प्रयोग गरेर खरिद गरिने हरेक प्रकारको सामानमा ग्राहक आकर्ष छुट दिइएको छ। यसले विभिन्न प्रकारका ५१८ प्रकारका सामानलाई आकर्षक छुटसहितको अफर दिएको छ। यो इसेवाले न्यूनतम दुई प्रतिशतदेखि सामान अनुसार झन्डै ५० प्रतिशतसम्म छुट दिएको अनलाइनमा राखिएको विवरणमा उल्लेख छ। अन्य अनलाइनले पनि ग्राहक आकर्षण गर्न विभिन्न प्रकारको अफर ल्याएका छन्।
चुनौती विश्वासको
अनलाइन सपिङ एकपछि अर्को बढ्दै गएका छन्। इन्टरेटको सहजतासँगै अनलाइनबाट हुने कारोबार पनि बढिरहेको छ। मोबाइल इन्टरनेटको सहज सुविधासँगै अनलाइन सपिङ पनि बढ्दै गएको छ। यसका लागि अबको चुनौती नै अनलाइनप्रति विश्वास दिलाउनु हो। ग्राहकको विश्वास दिने अनलाइनको बजारीकरण पनि सोहीअनुसार बढ्छ। यसर्थ, अनलाइन सपिङबाट पाइने हरेक सामानमा तोकिएको गुणस्तर, समान नक्कली हुने वा नहुने हेर्नुपर्ने, पेमेन्ट प्रणालीप्रतिको विश्वास, ग्राहकले सामानमा पाउने वारेन्टी तथा ग्यारेन्टीको व्यवस्था हुनुपर्छ। ग्राहक ठगिनु भएन सचेत भएर कारोबार गर्दै जानुपर्ने बुझाइ नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए। उनका अनुसार यसलाई नियमन गर्न विद्युतीय कारोबार ऐन, तयारीमै रहेको सूचना प्रविधि ऐनमा भएको व्यवस्थासहितको कानुनी आधारबाट नियमन गराउनुपर्छ।
-Annapurna post
FACEBOOK COMMENTS