काठमाडौं, फागुन १८- चीनबाट सुरु भएको कोरोना भाइरसका कारण नेपालमा आयोजना हुने दुई ठूला व्यापार मेला रोकिएका छन् । कोरोना भाइरस संक्रमणको त्रासका कारण नेपाल चेम्बर अफ कमर्सले फागुनमा गर्ने भनिएको चेम्बर एक्स्पो र नेपाल उद्योग वाणिज्य महासंघले चैतमा गर्ने भनिएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला रोकिएका हुन् ।
चेम्बर अफ कमर्शले यसै सातादेखि भृकुटीमण्डपमा पाँचौं नेपाल चेम्बर एक्स्पो गर्ने तयारी गरिरहेको थियो । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार मेलामा विदेशीहरू आउन सहज नभएपछि मेला स्थगित गरिएको हो । मेलामा चीन, बैंकक, भारत लगायत झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागी गराउने तयारी भएको थियो ।
चैतको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न मिति घोषणा गरिसेकेको नेपाल उद्योग बाणिज्य महासंघले पनि केही समयका लागि मेला नगर्ने भएको छ । महासंघका अध्यक्ष भवानी राणाले कोरोनाकै भाइरसकै कारण मेला केही समयका लागि रोक्नुपरेको जानकारी दिइन् । “चीनबाट मात्रै ७०÷८० वटा स्टल आउने कुरा थियो त्यसैगरी बंगलादेश र भारतका पनि धेरै स्टल बुक थिए,” उनी भन्छिन्, “कोरोना भाइरसका कारण अहिले विदेशीहरूले कन्फरमेसन पठाएका छैनन् भने कपिपयले यो समयमा आउन नसक्ने बताएका छन् ।”
FACEBOOK COMMENTS