काठमाडौं, असोज १२ –अन्नपूर्ण पदमार्गका होटलहरु कात्तिक पहिलो सातादेखि खुल्ने भएका छन् । लामो सयमको बन्दाबन्दीपछि सरकारले होटल सञ्चालनको लागि अनुमति दिएको झण्डै एक महिनापछि अन्नपूर्ण बेसक्पाम्प अन्तर्गत (एबिसी) का होटलहरु खुल्ने भएका हुन् ।
होटल तथा रेष्टुरेन्ट सञ्चालन अनुमति पाएपछि पोखरा लगायत देशका सबै जसो स्थानमा होटल व्यवसाय सञ्चालनमा आए पनि पदमार्ग अन्तर्गत पर्ने होटलहरु सञ्चालनमा आउन सकेका थिएनन् । सम्पूर्ण पेशा, व्यवसाय पूरानै लयमा फर्किने उपक्रममा रहेका बेला एबिसीका होटलहरुले पनि सञ्चालनको तयारी थालेका छन् । छोम्रोङ पर्यटन व्यवसायी समितिको बैठकले कडा सुरक्षा सर्तकता अपनाएर मात्रै होटल तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालनमा ल्याउने निर्णय लिएको छ ।
‘हाम्रो समितिले कात्तिक पहिलो सातादेखि होटलहरु सञ्चालन गर्ने निर्णय लिएको छ,’ छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलिप गुरुङले भने, ‘विस्तारै सबै क्षेत्रहरु पूरानै लयमा फर्किन प्रयासमा छन् । पर्यटन क्षेत्र पनि विस्तारै आन्तरिक उडानहरु खुलेपछि माथि उठ्दै छ । यही अवस्था यथावतै रह्यो भने हामीले पनि कात्तिक पहिलो सातादेखि व्यवसाय सञ्चालनमा ल्याउँछौं ।’
व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षाका उपाय तथा सामग्रीको व्यवस्था गरि सकिएको उनले सुनाए । पाहुनालाई स्वागत गर्नु पूर्व व्यवसायीले अनिवार्य रुपमा थर्मल गनले ज्वरो नाप्नु पर्ने साथै २४ घण्टा भन्दा बढी एउटै होटलमा पाहूना राख्न नपाइने नियम समितिले बनाएको छ । समितिको नयाँ नियमअनुसार २४ घण्टा एउटा होटलमा बसेको पाहूना दोस्रो दिन अर्कै होटलमा बस्नुपर्ने हुन्छ । यसरी आएका पाहूनालाई पालैपालो होटलमा राखिने छ ।
दशैं, तिहार घुम्ने मौसम पनि भएको हुनाले आफूहरुले पनि व्यवसाय सञ्चालनमा ल्याएको उनले सुनाए । स्वस्थ्य अवस्थामा मात्रै यात्राका लागि निस्किन समेत उनले अन्नपूर्ण पदमार्ग घुम्न चाहने पदयात्रीलाई आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS