काठमाडौं, माघ २४- सातौं संस्करणको अन्नपूर्ण पोस्ट् साइकल र्याली ‘राइड फर लाइफ’ शनिबार बिहान सुरु भएको छ। तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालय परिसरमा साइक्लिस्टहरु सहभागी भइसकेका छन् । खेलाडी तथा अन्य साइकलका सौखिनहरु साइकल यात्रामा सहभागी हुन उत्साही देखिएका छन्।
क्यान्सरविरुद्ध जनचेतना जगाउन र साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष साइकल र्याली आयोजना गर्दै आएको हो।
यसपटक ‘क्यान्सरविरुद्ध चेतना छरौं, वातावरण जोगाएर, साइकल चढौं स्वस्थ रहौं दूरी कायम गरेर’ भन्ने नारा तय गरिएको थियो। र्यालीमा १५ सयभन्दा बढी राइडरको सहभागिता रहेका छन्। बर्सेनि आयोजना हुँदै आएको र्यालीले धेरै मानिसलाई साइकल चढ्न र स्वस्थ बन्न थप प्रेरितसमेत गरेको छ।
अन्नपूर्ण मिडिया नेटवर्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम ‘अन्नपूर्ण सम्बन्ध’ मार्फत विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दैआएको छ । साइकल र्याली पनि त्यसैको एउटा पाटो हो।
‘यसपटकको र्याली झनै भव्य हुनेछ। अन्नपूर्ण मिडिया नेटवर्कले सात वर्षदेखि क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले साइकल र्यालीको आयोजना गर्दै आएको छ’, अन्नपूर्ण मिडिया नेटवर्क मानव संसाधन विभागकी डेपुटी म्यानेजर इन्दु श्रेष्ठले भनिन्, ‘यो वर्ष पनि सोही उद्देश्यसहित र्याली आयोजना गरेका हौं। र्यालीको अर्को उद्देश्य वातावरण स्वच्छ बनाउन जनचेतना जगाउनु पनि हो।’
र्याली बिहान ८ बजे तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु भएको र्याली गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै आइपुगेर टुंगिनेछ।
क्यान्सर केयर फाउन्डेसनसँगको सहकार्यमा आयोजना हुने र्यालीलाई जगदम्बा स्टिलले मुख्य प्रायोजन गरेको छ। नेपाल साइकल संघ र नेपाल साइकल सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालन हुने र्यालीलाई सर्वोत्तम सिमेन्ट, जियाओमी रेडमी नोट नाइन मोबाइल, नबिल बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, शिखर इन्सुरेन्स, मेगा बैंक, अल्का अस्पताल, रियल जुस, एनसेल, सिम्रिक एयर, प्याङ्क बाइक, नेविको, के एन्ड के इन्टरनेसनल कलेज, लाइन्स क्लब अफ काठमाडौं समर्पण, नेपाल क्यान्सर हस्पिटललगायत संघसंस्थाले सहप्रायोजन गरेका छन्।
र्यालीमा सहभागीमध्ये ‘लक्की ड्र’मार्फत भाग्यमानी विजेतालाई हिमालय क्रसकन्ट्री साइकल, जियाओमी रेडमी नोट नाइन मोबाइल, सिम्रिक एयरको गेसाइँकुण्ड टुर प्याकेज, सिको घडी, अन्नपूर्ण पोस्ट्को ६ महिनाको निःशुल्क ग्राहक सेवालगायत उपहार प्रदान गरिनेछ।
FACEBOOK COMMENTS