नेपाल राष्ट्र बैंक मनी चेन्जर विनियमावली, २०७६ ले ‘मनी चेन्जर’ भन्नाले विदेशी विनिमय कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त व्यक्ति, फर्म, कम्पनी वा संस्था भनेर परिभाषित गरिएको छ । यस्ता संस्था आर्थिक अपराधका घटनामा जोडिएको यो नयाँ घटना भने होइन । नेपालमा जब विदेशी विनिमय अपचलनको मुद्दा आउँछ, त्यतिबेला प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मनी चेन्जर कम्पनी मुछिएका छन् । पछिल्लो घटना पनि यसैको निरन्तरता भएको जानकार बताउँछन् ।
असार २७ मा महानगरीय प्रहरी वृत्त बौद्धअन्तर्गतको तीनचुली चौकीले तेन्जिन सिमीजी नामक जापानीको रकम लुटेको घटनामा अनुसन्धान अगाडि बढायो । तीनचुलीस्थित घरबाटै रकम लुटिएको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीले वसन्तपुरको बी स्क्वायर मनी एक्सचेन्जरका दिनेश कार्कीलाई पक्राउ गर्यो । राष्ट्र बैंकको नियमअनुसार विदेशीको डलर सटही गरेपछि उक्त व्यक्तिको परिचय खुल्ने कागजात अनिवार्य रूपमा राख्नुपर्छ तर कार्कीले त्यसो गरेनन् । सटही कानुन उल्लंघन गरेको आरोपमा उनी पक्राउ परे र ५० हजार धरौटी बुझाएर छुटे ।
मनी चेन्जरको अनुमति लिएका कम्पनीले मात्रै विदेशी मुद्रा सटही गर्दर्नैन् । यसका लागि होटल, कार्गो, ट्रेकिङ एजेन्सी, एयरलाइन्सलगायत विभिन्न संघसंस्थाले अनुमति पाएका हुन्छन् ।
संगठित अपराध, विदेशी मुद्राको अपचलन र तस्करीका घटनामा मनी एक्सेन्जरहरू जोडिन थालेपछि प्रहरीले यिनको संख्याबारे पुनर्विचार गर्नुपर्ने प्रस्ताव राष्ट्र बैंकसमक्ष राखिसकेको छ । प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटी मनी एक्सचेन्जरहरू विभिन्न आर्थिक अपराधका घटनामा जोडिएकाले उनीहरूको नियमन र अनुगमन जरुरी रहेको बताउँछन् ।
राष्ट्र बैंकले मनी चेन्जरका लागि नयाँ लाइसेन्स रोक्का गरेको छ । डेढ वर्षअघि राष्ट्र बैंकले लाइसेन्स वितरण प्रक्रिया स्थगित गरेको हो । खासगरी तराई र सीमा नाकाका लागि लाइसेन्स माग्दै आवेदन धेरै आएको तर ती ठाउँमा पहिल्यै धेरै कम्पनी रहेकाले केही समयका लागि लाइसेन्स वितरण स्थगित गरेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए । ‘त्यतिबेला दमक, बिर्तामोड, वीरगन्जलगायत भारतसँग सीमा जोडिएका स्थानमा मात्र धेरै लाइसेन्स माग भयो,’ उनले भने, ‘विदेशी मुद्रा अपचलनको मुद्दामा मनी चेन्जर पनि मुछिएको पाइयो । तिनको कामकारबाही पारदर्शी पनि भएन । त्यसै नयाँ लाइसेन्स वितरण स्थगित गरिएको हो ।’ लाइसेन्स रोक्ने निर्णय हुँदा उनी राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख थिए ।
ढुंगानाको बुझाइ र उच्च प्रहरी अधिकारीको भनाइले पनि बैंक तथा वित्तीय संस्थाहरूको पहुँच व्यापक भइसकेको समयमा मनी चेन्जरहरूको संख्या र तिनको गतिविधिबारे पुनर्विचार गर्नुपर्ने संकेत गर्छ । लाइसेन्स स्थगित गर्दा राष्ट्र बैंकले समग्र मनी चेन्जरहरूको अवस्था, पहुँचलगायत सबै विषय अध्ययन गरेर कम भएका ठाउँमा मात्र नयाँ लाइसेन्स दिने निर्णय गरेको थियो तर स्थगित भएको करिब डेढ वर्ष भइसक्दा पनि राष्ट्र बैंकले यसबारे अध्ययन र अनुसन्धान गरेको छैन ।
नियमविपरीत काम गरेको खण्डमा मनी चेन्जरको लाइसेन्स रद्द गर्ने कानुनी व्यवस्था छ । नेपाल राष्ट्र बैंक मनी चेन्जर विनियमावली, ०६७ ले मनी चेन्जर कम्पनीले लाइसेन्सको म्याद समाप्त भएको तीन महिनाभित्र नवीकरण गराउन वा बैंक ग्यारेन्टी/नगद धरौटी फुकुवा गराउन निवेदन नदिएमा उक्त धरौटी जफत भई इजाजतपत्र स्वतः रद्द हुने व्याख्या गरेको छ । त्यस्तै मनी चेन्जर कारोबारमा कुनै अनियमितता भएको पाइए वा तोकिएका सर्त उल्लंघन भएको पाइए कुनै पनि बेला इजाजतपत्र रद्द गर्ने, धरौटी जफत गर्ने वा दुवै कारबाही गरी प्रचलित कानुनबमोजिम अन्य आवश्यक कारबाहीसमेत गर्न सकिने अधिकार राष्ट्र बैंकसँग छ । यस्तो कारबाही राष्ट्र बैंकको सम्बन्धित जिल्लास्थित कार्यालयले पनि गर्न सक्ने व्यवस्था विनियमावलीमा छ । यही कानुनी व्यवस्थाअन्तर्गत काम नगर्ने मनी चेन्जर तथा विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका संघसंस्थालाई कारबाही गर्दै आएको राष्ट्र बैंक विदेशी विनिमय विभागका निर्देशक गुरुप्रसाद न्यौपानेले बताए ।
आर्थिक अपराधका घटना अनुसन्धान गरेका प्रहरीका उच्च अधिकारीहरू भने मनी चेन्जरको लाइसेन्स रद्द गर्नेसम्बन्धी कानुनी व्यवस्था कमजोर रहेको र धरौटीमा छुटेपछि फेरि आर्थिक अपराधमा संलग्न हुने घटना बढी देखिएको बताउँछन् । मनी चेन्जरको कारोबार गर्न अनुमति पाएको फर्म वा कम्पनीले तोकिएको काम मात्र गर्न पाउँछन् । भारतीय रुपैयाँमा कारोबार गर्न इजाजतपत्र प्राप्त फर्म वा कम्पनीले उक्त मुद्राको खरिद तथा बिक्री दुवै गर्न सक्छन् । परिवर्त्य विदेशी मुद्रा कारोबार गर्न इजाजत प्राप्त फर्म वा कम्पनीले त्यस्तो मुद्रा खरिद मात्रै गर्न सक्छन् । विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सटही सुविधाबापत परिवर्त्य विदेशी मुद्रा बिक्री मनी चेन्जरले त्यसबापत परिवर्त्य विदेशी मुद्रा बिक्री गर्न सक्ने व्यवस्था छ ।
मनी चेन्जरले खरिद गरेको परिवर्त्य विदेशी मुद्रा बैंक वा राष्ट्र बैंकमा बुझाउनुपर्छ तर प्रहरीका अनुसन्धान अधिकारीहरू धेरैजसो मनी चेन्जरले सटहीको हिसाबकिताब दुरुस्त नराख्ने र सटही गर्ने व्यक्तिको परिचय खुल्ने कागजात नराख्ने गरेको बताए । महानगरीय प्रहरी अपराध महाशाखाले गत वर्ष वैशाख ७ मा झापाका एक जनालाई ३८ हजार अमेरिकी डलरसहित पक्राउ गर्यो । महाशाखाका तत्कालीन डीएसपी रुगम कुँवरले उनीसँग बयान लिए । बयानक्रममा ती व्यक्तिले काठमाडौंमा विभिन्न मनी चेन्जर कम्पनीबाट रकम उठाएको बताए । महानगरीय प्रहरी वृत्त कालीमाटीमा रहेका डीएसपी कुँवरले उक्त घटनाले मनी चेन्जरले सटहीको हिसाबकिताब नराख्ने र हुन्डीलगायत घटनामा मनी चेन्जर प्रयोग भएको देखिएको बताए
।
– Kantipur Daly
FACEBOOK COMMENTS