काठमाडौँ, फागुन १९ – अफगानिस्तानको जलालबाद सहरमा टेलिभिजनमा काम गर्ने तीन युवतीको गोली हानी हत्या भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार १८ देखि २० वर्षका उनीहरुको दुई छुट्टाछुट्टै घटनामा मृत्यु भएको हो । गोली लागी घाइते भएका अर्का एक व्यक्तिको अवस्था गम्भीर छ ।
पछिल्लो समय अफगानिस्तानमा पत्रकार, अधिकारकर्मी र राजनीतिक व्यक्तिहरु आक्रमणको निशानामा पर्न थालेका छन् । अफगानिस्तानको प्रहरीले यो घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । उनको सम्बन्ध तालिबानसँग रहेको प्रहरीले बताएको छ । तर, तालिबानले भने यो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
आक्रमणमा मारिएका युवतीहरु भर्खरै हाइ स्कुल पास गरी एनिकास टीभी स्टेसनमा डबिङ डिपार्टमेन्टमा काम गर्दै आएका थिए । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार उनीहरु सबै कामबाट घर फर्किँदै गर्दा बाटोमा आक्रमण भएको थियो ।
प्रहरीले आक्रमणमा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको बताएको छ । एक वर्षअघि तालिबानसँग अमेरिकाले शान्ति सम्झौता गरेपछि अफगानिस्तानमा हिंसात्मक आक्रमणमा उल्लेख्य वृद्धि भएको छ । यसअघि गत डिसेम्बरमा एनिकास टीभीका अनुसार गत डिसेम्बरमा पनि उक्त टेलिभिजनमा काम गर्ने एक महिलाको पनि हत्या भएको थियो । उक्त आक्रमणको जिम्मा भने इस्लामिक स्टेट (आईएस)ले लिएको थियो ।
FACEBOOK COMMENTS