काठमाडौं, फागुन १५ – बीमा कम्पनीहरुले आफुले प्रयोगमा ल्याएका सूचना प्रविधि प्रणालीको साइबर सुरक्षा बीमा गर्नु पर्ने भएको छ । बीमा समितिले जोखिम व्यवस्थापन सम्बन्धी मार्गदर्शन ‘रिस्क म्यानेजमेन्ट गाइडलाइन्स फर इन्स्योरेन्स कम्पनी २०७६’ जारी गर्दै साइबर सुरक्षा बीमा गर्नु पर्ने नियम ल्याएको हो ।
समितिले बीमा कम्पनी आफैले वा नेपालमा दर्ता भई सञ्चालनमा रहेका क्लाउड डेटा सेन्टर सेवा प्रदायकहरुबाट मात्रै लिनु पर्ने व्यवस्था गरेको हो ।समितिले बीमा ऐन २०४९ को दफ ८ (घ२) को अधिकार प्रयोग गरी बीमकले अवलम्बन गर्ने सूचना प्रविधि नीति तथा उपयोगबाट बीमितको हित रक्षा गर्न सो मार्गदर्शन लागू गरिएको जनाएको छ ।
नयाँ मार्गदर्शन अनुसार जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुले नियमित रुपमा जोखिम मूल्याङ्कन गर्नु पर्नेछ । जोखिमको नियमित नियमन हुनु पर्ने, जोखिम र पुनर्बीमाको समीक्षा गर्नु पर्ने तथा जोखिमको पहिचान र मापन गर्नु पर्ने उक्त मार्गदर्शनमा उल्लेख छ ।
निर्देशिका अनुसार बीमकले आफ्नो सूचना प्रविधि प्रणालीमा सुरक्षा कायम गर्दा सूचनाको भौतिक तथा वातावरणिय सुरक्षा, हार्डवेयर तथा नेटवर्कको सुरक्षा, कम्प्युटर भाइरस तथा अन्य मालवेयरहरुकाट सुरक्षा लगायतका विषयहरु अनिवार्य रुपमा समावेश भएको हुनु पर्ने छ । त्यस्तै बीमा कम्पनीहरुले सूचना प्रविधि प्रणालीको सञ्चालन र प्रयोग गर्नु पर्ने छ ।
कम्पनीहरुले सूचना प्रविधि प्रणाली केन्द्रीय कार्यालय लगायत सबै शाखा, उपशाखा तथा सम्पर्क कार्यालयहरुमा समेत प्रयोगमा ल्याउनु पर्ने समितिले जनाएको छ । बीमकले सूचना प्रविधि प्रणाली उच्च अधिकारी, कर्मचारी, तथा आवश्यकता अनुसार बीमा मध्यस्थकर्ता सम्मले प्रयोगमा ल्याउन सक्ने व्यवस्था गर्नु पर्ने समितिले जनाएको छ ।
