काठमाडौं, चैत २० – नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सदस्यहरुका लागि ३ वटा नयाँ सुविधा थप गरेको छ । संस्थाले आज (चैत २० गते) बाट उक्त सुविधाको औपचारिक रुपमा शुरुवात गरेको हो ।
६४औं राष्ट्रिय सहकारी दिवसको ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारा रहेको र त्यसैलाई सार्थकता दिन नयाँ प्रविधि शुरु गरिएको संस्थाका कार्यकारी प्रमुख विकल्प पाठकले जानकारी दिए । संस्थाले ई-टेलर, ई-पेमेन्ट र फोन-पे सञ्चालनमा ल्याएको हो । सदस्यहरुले संस्थाको मुख्य कार्यालयसहित सबै सेवा केन्द्रबाट उक्त सुविधा लिन सकिने पाठकले बताए । सदस्यहरुले नेचुरल मोबाइल एपको प्रयोग गरी उक्त सुविधाहरु लिन सक्नेछन् ।
‘ई-टेलर बैंकिङ सेवा लिनका लागि संस्थाको क्यास काउण्टरमा राखिएको क्यूआर कोड स्क्यान गरी रकम झिक्नका लागि अनुरोध गर्न सकिन्छ,’ पाठकले थपे ‘सदस्यले गरेको अनुरोधका आधारमा चेक बिना नै रकम उपलब्ध गराइन्छ र सदस्यले माग गरेको रकम प्राप्त गर्न सक्छन् ।’ यो सुविधा लिन संस्थाको कार्यालयमा नै जानुपर्ने हुन्छ ।
त्यसैगरी, संस्थाले ई-पेमेन्ट सुविधा पनि शुरु गरेको छ । सदस्यले ई-पेमेन्ट सेवाका लागि शुरुमा एउटा फारम भरेर पिन कोड लिनुपर्ने हुन्छ । पिन कोड प्राप्त भएपछि सो को प्रयोग गरेर घरमै बसेर रकम ट्रान्सफर गर्न सकिनेछ भने पिन कोड कै आधारमा सदस्यले भुक्तानी दिन चाहेको व्यक्ति संस्थाको काउण्टरमा गई रकम भुक्तानी लिन समेत सक्छन् ।
FACEBOOK COMMENTS