काठमाडौ – ऊर्जामन्त्री वर्षमान पुनले अब सरकारी निकायले ‘साइट क्लियरेन्स’पछि मात्र ठेक्का निकाल्ने बताएका छन् ।
‘साइट क्लियरेन्स’ नगरी ठेक्का निकाल्दा पाइलैपिच्छे समस्या देखा परेको उनले बताए। नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटमा मन्त्री पुनले मुलुक समृद्ध बनाउने मुख्य जिम्मा स्वदेशी निर्माण व्यवसायीकै भएकाले समन्वय गरी काम गर्ने बताए ।
भेटमा महासङ्घका प्रतिनिधिमण्डलले व्यवसायीका समस्या र समाधानका उपायका बारेमा मन्त्री पुनलाई जानकारी गराएको थियो ।
महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले व्यवसायीलाई पेशाबाट नै पलायन गर्ने गरी जारी भएको मुलुकी अपराध(संहिता) ऐनप्रति आपत्ति जनाएको थियो ।
गल्ती गरेको खण्डमा व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन विगतका ऐन कानून नै पर्याप्त रहेको महासङ्घको भनाइ छ ।
महासङ्घले समयमा निर्माण सम्पन्न नहुनुका मुख्य कारण निर्माण व्यवसायीले आफ्नो क्षमताभन्दा बढी काम लिनु हो भन्दै निर्माण व्यवसायीको क्षमताअनुसार मात्र काम उपलब्ध गराउन पहल गर्न मन्त्री पुनसमक्ष अनुरोध गरेको छ ।
साना निर्माण व्यवसायीलाई समेत सहजरुपमा बोलपत्रमा सहभागी हुन पाउने वातावरण बनाइदिन पनि महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । रासस
FACEBOOK COMMENTS