काठमाडौं, मंसिर ३ – नेपालमा उत्पादन तथा बिक्री हुने सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने सात वर्षअघिको विवाद पुनः ब्युँतिएको छ । उद्योग विभागले सात वर्षअघि सरकारले गरेको व्यवस्था कार्यान्वयमा ल्याउन सिमेन्टमा अनिवार्य लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने सूचना जारी गरेपछि विवाद ब्युँतिएको हो ।
सर्वोच्च अदालतको फैसला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनअनुसार सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन थालिएको उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलालले बताए । सोहीअनुसार विभागले नेपालमा उत्पादन तथा बिक्री–वितरण हुने सबैखाले सिमेन्ट अनिवार्य रूपमा लेमिनेटेड बोरा प्रयोग गर्न सूचनासमेत जारी गरिसकेको उनले बताए ।
१५ जेठ ०६९ मा सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने व्यवस्था गरेको थियो । उद्योग विभागले सोही सूचना १ असार ०६९ मा दैनिक पत्रिकामा प्रकाशित गरी ९० दिनभित्र लेमिनेटेड बोरा प्रयोगमा ल्याउन सूचित गरेको थियो । तर, उद्योगी डा। ताराप्रसाद पोखरेलले उद्योगीहरूका तर्फबाट उक्त सूचना खारेज गरिपाऊँ भनी सर्वोच्च अदालतमा रिट हालेका थिए ।
सर्वोच्चले १८ भदौ ०६९ मा उक्त सूचना कार्यान्वयन नगरी–नगराई यथावत् राख्नु भनी अन्तरिम आदेश जारी गरेको थियो । त्यसको सात वर्षपछि सर्वोच्चले गत ३ वैशाख ०७६ मा अन्तरिम आदेश निष्क्रिय गरी रिट निवेदन खारेज ग(यो । सर्वोच्चको आदेशपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिँदै विभागलाई पत्राचार ग(यो । ‘सर्वोच्चको अन्तिम फैसला र मन्त्रालयको पत्रअनुसार हामीले यस व्यवस्थालाई कार्यान्वयनमा लगेका हौँ,’ उनले भने, ‘अब नेपालमा बिक्री–वितरण हुने सबैखाले सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नैपर्छ ।’
अनुगमन सुरु हुँदै
विभागले अघिल्लो साता मात्रै सूचना जारी गर्दै सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्ने व्यवस्था कार्यान्वयन गर्न–गराउन सूचित गरेको छ । विभागले २७ कात्तिकमा जारी गरिएको सूचनामा भनिएको छ, ‘सर्वोच्चको अन्तिम फैसला तथा मन्त्रालयको निर्देशनअनुसार लेमिनेटेड बोरा प्रयोग गर्नेबारे जानकारी तथा कार्यान्वयनका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ विभागले अब लेमिनेटेड बोरा प्रयोग भए–नभएको अनुगमन सुरु गर्ने महानिर्देशक सिटौलाले बताए । ‘हामीले वातावरण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागलाई समेत जानकारी गराएका छौँ,’ उनले भने, ‘अब पनि सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग नगरिए नियमअनुसार कारबाही गर्नेछौँ ।’
समय थप गरिदिन उद्योगीको आग्रह
उद्योगीहरूले भने सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्ने व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने बताएका छन् । उनीहरूले कार्यान्वयनका लागि समय थप गरिदिन आग्रहसमेत गरेका छन् । नेपालमा मागअनुसार लेमिनेटेड बोरा उत्पादन हुन नसक्ने तथा आयातीत बोरा प्रयोग गर्दा सिमेन्टमा लागत बढ्ने भएकाले तत्काल लेमिनेटेड बोरा प्रयोग गर्न नसकिने नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले बताए । ‘नेपालमा लिमिनेटेड बोरा उत्पादन गर्ने उद्योग एउटा मात्रै छ, मागअनुसार आपूर्ति गर्न सक्दैन, भारतबाट ल्याउँदा प्रतिबोरा १५ रुपैयाँ सिमेन्ट महँगो हुन्छ,’ उनले भने, ‘त्यसैले लेमिनेटेड बोरा प्रयोग गर्ने व्यवस्था कार्यान्वयनका लागि थप दुई वर्ष समय दिन हामीले माग गरेका छौँ ।’ नयाँ पत्रिकामा समाचार छ ।
FACEBOOK COMMENTS