काठमाडौं, मंसिर १९ – चलचित्र ‘जुग जुग जियो’ को छायांकनका लागि चण्डिगढमा रहेका अभिनेता वरुण धवन र नीतु कपूरमा कोरोना संक्रमण देखिएको खबर सार्वजनिक भएको छ । कलाकारका साथै चलचित्र निर्देशक राज मेहतामा पनि कोरोना संक्रमण देखिएको हो । जसका कारण हालका लागि चलचित्रको छायांकन स्थगित गरिएको छ ।
भारतीय सञ्चार माध्यममा अभिनेता अनिल कपूरको रिर्पोट पनि पोजेटिभ आएको भनेर खबर फैलाए पनि चलचित्र टिमसँग नजिकका एक स्रोतका आधारमा फिल्मफेयरले अनिल कपूरमा संक्रमण नदेखिएको खुलासा गरेको छ । आवश्यक सुरक्षा सावधानीका बीच पनि कलाकारहरुमा कोरोना देखिएको बताइएको छ ।
निर्देशक राज मेहताले नोभेम्बरको मध्यदेखि चलचित्रको छायांकन सुरु गरेका थिए । चलचित्रमा वरुण धवन र कियारा अडवाणी पहिलो पटक जोडीको रुपमा देखिँदै छन् । त्यस्तै अभिनेता नीतु कपूर र अनिल कपूर वरुणका आमाबुबाको भूमिका निभाउँदै छन् । चर्चित युट्युबर प्रजाक्ता कोली (मोस्टलीसेन) यो चलचित्र मार्फत बलिउडमा डेबयू गर्दैछन् ।
FACEBOOK COMMENTS