साउन १९ – बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो कोभिड–१९ (कोरोना भाइरस) रिपोर्ट नेगेटिभ आएको छ । कोभिड परीक्षणको नजिता नेगेटिभ आएसँगै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
कोरोना भाइरस संक्रमण देखिएपछि यी ७७ वर्षीय अभिनेता जुलाई ११ मा अस्पतालमा भर्ना भएका थिए । अमिताभका छोरा अभिषेक बच्चनले ट्वीट गर्दै बुबाको पछिल्लो रिपोर्ट नेगेटिभ देखिएको र अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् ।
‘बुबाको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ र अस्पतालबाट डिस्चार्ज गरिएको, उहाँ अब घरमा आराम गर्नुहुनेछ,’ उनले ट्वीट गर्दै भनेका छन् ।
अभिषेकले बुबाको प्राथना र स्वास्थ्यलाभको कामना गर्ने सबै फ्यानलाई धन्यवाद दिएका छन् । २३ दिनअघि अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । पछि परीक्षणका क्रममा उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय र नातिनी आराध्या बच्चनमा कोरोना पोजेटिभ देखिएको थियो ।
ऐश्वर्या र आराध्याको कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । अभिषेकमा भने पुनः कोरोना पोजेटिभ देखिएको उनले ट्वीटमार्फत जनाएका छन् ।
FACEBOOK COMMENTS