काठमाण्डौ, मंसिर २८ – अमेरिकी खाद्य एवम् औषधि प्रशासन (एफडिए)ले फाइजर-बायोएनटेकको खोप आपतकालीन प्रयोगका लागि वितरण गर्न अनुमति दिएको छ।
योसँगै जोखिममा रहेका लाखौंले केही दिनमै खोप पाउने बाटो खुलेको द न्यूयोर्क टाइम्सले जनाएको छ। अमेरिकामा कोरोना संक्रमणबाट अहिलेसम्म २ लाख ९० हजारले ज्यान गुमाइसकेका छन्।
अहिलेसम्म कोरोना भाइरसविरूद्धको खोप वितरण गर्न दिने अमेरिका छैठौं राष्ट्र बनेको छ। बेलायत, बहराईन, क्यानडा, साउदी अरब र मेक्सिकोले पनि वितरण गर्न अनुमति दिएका छन्।
त्यस्तै यूरोपियन यूनियन (ईयू)का राष्ट्रले पनि यही हप्ता खोप वितरण गर्न अनुमति दिनेछन्।
शुक्रबार बिहान ह्वाइट हाउसका कर्मचारी प्रमुख मार्क मिएडोजले खोप वितरण गर्न अनुमति नदिए एफडिएका कमिस्सनर डा. स्टेफन हानलाई अर्को काम खोज्न चेतावनी दिएपछि अनुमति पाएको द न्यूयोर्क टाइम्सले लेखेको छ। सो कुरा प्रशासनका वरिष्ठ अधिकारीले नाम खुलाउने शर्तमा द न्यूयोर्क टाइम्सलाई बताएका थिए।
त्यसपछि डा. हानले शुक्रबार साँझसम्ममा अनुमति दिइसक्न एफडिएका नियामकहरूलाई निर्देशन दिएका थिए। खोप वितरण गरेको पहिलो हप्तामा तीस लाख डोज सैनिक, स्वास्थ्यकर्मी लगायतलाई दिइनेछ।
फाइजरले अमेरिकी सरकारसँग अर्को मार्चसम्म १० करोड डोज खोप दिने सम्झौता गरेको छ। सम्झौता अनुसार उक्त खोप सर्वसाधरणका लागि निःशुल्क हुनेछ।
FACEBOOK COMMENTS