काठमाडौं, माघ १६ – नेपालका लागि अमेरिकी राजदूत यान्डी बेरीले शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका छन् । अमेरिकामा निर्वाचनपछि राष्ट्रपति जो बाइडेन नेतृत्वमा नयाँ सरकार गठनपछि राजदूत बेरीले शीर्ष नेताहरूपछि प्रधानसेनापति थापालाई भेटेका हुन् । बेरीले बाइडेन प्रशासनमा नेपाली र अमेरिकी सेनाबीचको सम्बन्ध र सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
राजदूत बेरीले जंगी अड्डा पुगेर प्रधानसेनापति थापासँग छलफल गरेका हुन् । जंगी अड्डाले दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको विज्ञप्तिमा जनाएको छ ।
अमेरिकी राजदूत बेरीले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गरिसकेका छन् । नयाँ सरकारको विदेश नीति र विशेष गरी नेपाल नीतिबारे बेरीले जानकारी दिँदै आएका छन् ।
FACEBOOK COMMENTS