काठमाडौं, माघ ९ – नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले राष्ट्रपति बाइडनका शीर्ष प्राथमिकताहरूबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् ।
राजदूत बेरीले बाइडन प्रशासन जलवायु परिवर्तनदेखि आणविक प्रसारसम्म र साइबर युद्धदेखि कोभिड-१९ जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीसम्म कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहेको बताएका थिए ।
राष्ट्रपति बाइडनले भने, “अमेरिकाको परीक्षण भएको छ र हामी यसबाट अझ सशक्त बनेका छौँ । हामी हाम्रा गठबन्धनहरू मर्मत गर्नेछौँ र विश्वसँग फेरि संलग्न हुनेछौँ । हिजोका हैन, आज र भोलिका चुनौतीहरूको सामना गर्न । हामी केवल हाम्रो शक्तिको उदाहरणबाट मात्र होइन हाम्रो उदाहरणको शक्तिबाट नेतृत्व गर्नेछौँ । हामी शान्ति, प्रगति, र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार हुनेछौँ ।”
नयाँ प्रशासनले विश्वव्यापी संलग्नताको मुख्य उपकरणको रूपमा कूटनीतिलाई प्रयोग गर्ने राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई बताएका थिए ।
राजदूत बेरीले नेपाल जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेको बताए । उनले सगरमाथा संवादलाई सफल बनाउन मद्दत गर्ने र जलवायु परिवर्तनका प्रभावहरूलाई कसरी मिलेर सम्बोधन गर्ने भनी छलफल गर्ने दूतावासको चाहना पनि व्यक्त गरे ।
बाइडन प्रशासनले स्वदेशमा र विश्वभर महिला तथा बालिकाहरूको अधिकारको उत्थानमा केन्द्रित हुने लगायत गरी मानव अधिकारको नेतृत्व लिने बताएका थिए ।
FACEBOOK COMMENTS