काठमाडौँ । पूर्वी नेपालको आकर्षक परियोजना अरुण जलविद्युत् आयोजना निर्माण गर्न भारतीय कम्पनी सतलज जलविद्युत् निगमलाई सर्वेक्षण अनुमति दिइएको छ ।
सङ्खुवासभा र भोजपुरको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदनका लागि सर्वेक्षण गर्न लगानी बोर्ड नेपाल र एसजेभीएन (इन्डिया)सँग आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा लगानी बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र विकासकर्ता कम्पनीका तर्फबाट एसजेभीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले हस्ताक्षर गरे । बोर्डले अर्धजलाशययुक्त सो परियोजना २०७५ चैत १५ मा भएको लगानी सम्मेलनमा लगानीकर्ताबीच प्रस्तुत गरेको थियो ।
परियोजना विकासका लागि प्राप्त अन्तर्राष्ट्रिय बोलकबोलको प्रस्तावमध्येबाट २०७७ माघमा निर्माण, स्वामित्वकरण, सञ्चालन तथा हस्तान्तरण ढाँचामा विकास गर्न एसजेभीएनको प्रस्ताव स्वीकार गरिएको थियो ।
आयोजना निर्माणका लागि करिब एक अर्ब १३ करोड अमेरिकी डलर लागत लाग्ने अनुमान छ । समझदारीअनुसार दुई वर्षभित्र एसजेभीएनले विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS