झापा । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बालाचतुदर्शी मेलाको अवसरमा ४२औं वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीले आगामी मङ्सिर ८ देखि १५ गतेसम्म महायज्ञ हुने जानकारी दिए । विश्वशान्ति तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा आन्तरिक तथा बाह्य गरी सो पर्यटक भित्र्याउने लक्ष्य राखेको हो । विसं २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ ।
उनले धाममा १०८ आचार्य ब्राम्हणद्वारा श्रीमद्भावगतसहित हवनात्मक महायज्ञ गरिने जानकारी दिए । बाला चतुर्दशीमा समापन हुने गरी आयोजना गरिने महायज्ञको पूर्व तयारीका लागि विभिन्न १९ उपसमिति गठन गरिएको छ । समितिले आफ्नो जिम्मेवारीअनुसार धमाधम काम गरिरहेका छन् ।
हाल मूल मन्दिरको पूर्व–दक्षिणतर्फ १०८ व्यास (कुटी), यज्ञ, मण्डप आदि निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । अर्जुनधारा–८ स्थित ऐतिहासिक शनिश्चरे बजार चोकमा बिजुली बत्तीको ५० फिट अग्लो गेट निर्माणको तयारी गरिएको छ । धाममा ५० लाख रुपैयाँको अक्षयकोष रहेको र सो कोषलाई दुई करोड रुपैयाँ पुर्याउने लक्ष्य लिइएको उनले बताए ।
महायज्ञ अवधिभरमा सहयोग रसिद, भागवत भेटी, गङ्गा आरती, बजार स्टल, यजमान, अक्षयकोष र अन्यसहित दुई करोड १६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
यज्ञ सम्पादनका प्रचार–प्रसार, साजसज्जासहित विभिन्न शीर्षकमा ९५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मङ्सिर ८ गते विभिन्न जातजातिको झाँकीसहित नगर परिक्रमा गरी महायज्ञको उद्घाटन गरिने भएको छ ।
FACEBOOK COMMENTS