काठमाडौं, २ मंसिर – अर्मेनियाका विदेशमन्त्री जोह्रब नात्साकान्यनले राजीनामा दिएका छन् । देशमा चर्किरहेको आन्दोलनका कारण उनले राजीनामा दिएका हुन् ।
अजरबैजानसँग विवादित भूमिको विषयलाई लिएर जारी युद्ध रोक्न रुसको सहयोगमा भएको सम्झौतापछि सरकारको विपक्षमा अर्मेनियामा आन्दोलन चर्किएको छ । आन्दोलन चर्किएसँगै विदेशमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
गत साता भएको उक्त सम्झौता भएको थियो । सो सम्झौतापछि अर्मेनियामा प्रधानमन्त्री निकोल पाशिन्यानको राजीनामा माग्दै प्रदर्शन भइरहेको छ ।
सोमबार मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत् विदेशमन्त्रीको राजीनामा दिएको बताएका हुन् ।
अर्मेनियाका प्रधानमन्त्रीले भने आफूले राजीनामा नदिने बताउँदै आएका छन् । विदेशमन्त्रीको राजीनामापछि भने उनलाई पनि राजीनामा दिन दबाब बढेको टिप्पणी गरिएको छ ।
यसअघि अर्मेनिया र अजरबैजानको विवादित भूमि नागोर्नो काराबखको विषयमा दुई देशबीच ६ सातासम्म लडाइँ चलेको थियो । यो युद्धको क्रममा अर्मेनियाका २३ सयभन्दा धेरै सैनिकको ज्यान गएको थियो । यता अजरबैजानले भने सो युद्धमा कति सैनिक मारिए भन्ने खुलाएको छैन ।
गत शनिबार अर्मेनियाको नेशनल सेक्युरिटी सर्भिसले पूर्व अधिकारीहरुको समूहलाई प्रधानमन्त्रीको हत्या प्रयास गरेर सत्ता आफ्ना हातमा लिने प्रयास गरेको बताइएको थियो ।
FACEBOOK COMMENTS