काठमाण्डौ – नेपालका चिनी उद्योगहरूले भारत लगायतका देशबाट चिनी ल्याएर आफ्नो नाममा प्याकिङ गरी भ्याट फिर्ता (रिफन्ड) लिने गरेको आरोप पनि छ । आर्थिक बर्ष २०७०–०७१ देखि २०७४–०७५ सम्म ६ अर्ब रूपैयाँ भ्याट फिर्ता चिनी उद्योगले लगिसकेको तथ्यांक सार्वजनिक भएको छ ।
चिनी उद्योगीहरूले भारतीय चिनी नेपाल भित्र्याएर उखु किसानको नाममा भ्याट फिर्ता लिएका हुन् । चिनी उद्योगहरूले भारतबाट चिनी ल्याउने र आफ्नो उद्योगमा प्याकेजिङ गरी बिक्री गरेको भन्दै अहिलेसम्म ६ अर्ब भ्याट फिर्ता लिएको आरोप छ ।
नेपालका चिनी उद्योगहरूले भारतीय चिनी भन्सार छली गरेर नेपालमा ल्याउने र प्याकिङ गरी भ्याटबिल जारी गरी बिक्रीवितरण गर्दै आएको खुलासा भएपनि सरकारले छानबिन नगरी खुरुखुरु भ्याट फिर्ता दिने गरेको छ ।
अर्थमन्त्रालयका उच्च अधिकारी समेतलाई प्रभावमा लिइ चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवाल र राजकुमार अग्रवालले भारतबाट ल्याएको तस्करीको चिनी नेपालका उद्योगबाट उत्पादित भन्दै भ्याटबिल जारी गरी भ्याटफिर्ता लिएर मालामाल बन्दै आएका छन् । नेपालका चिनी उद्योग प्रायः सबै भारतीय सीमा छेउमा लगेर स्थापना गरिएका छन् ।
जुन उद्योगमा भारतीय तस्करीको चिनी खुलेआम ल्याएर आफ्नो उद्योगमा प्याकिङ गरी बिक्री बितरण हुने गरेको लामो समयदेखि आरोप लाग्दै आएको छ त्यसबापत राज्यबाट भ्याटफिर्ता लाने गरेको बारेमा सरोकारवाला र अर्थ मन्त्रालयका उच्च अधिकारीलाई जानकारी भएपनि चुप बस्ने गरेका छन् ।
उखुको विकासका लागि भनेर लगेको भ्याट फिर्ताको रकम चिनी उद्योगीहरूले भागबन्डा गरेको भन्दै ब्यापक विरोध भएपछि सरकारले यो वर्षदेखि भ्याटफिर्ता नदिने निर्णय गरिसकेको छ । शशीकान्त अग्रवाल चिनी उद्योगको नाममा राज्यको धेरै भ्याट फिर्ता लिने ब्यवसायी मध्ये एक हुन् । उनी चिनी उद्योग संघका अध्यक्ष पनि हुन् । उनको नेपालका सबै चिनी उद्योगमा लगानी रहेको स्रोत बताइन्छ ।
यसरी भारतीय तस्करीको चिनी ल्याएर आफ्नो उद्योगमा प्याकिङ गरी बर्षैपिच्छे राज्यबाट अर्बौं रूपैयाँ भ्याटफिर्ता लाने मुख्य डिजाइनर शशीकान्त भएको आन्तरिक राजश्व विभागका एक अधिकारीले बताए । उनी र कौशल सर्राफको एभरेष्ट सुगर मिलले नेपाली उखु किसानबाट नगन्य मात्रामा ऊखु खरिद गर्ने तर भारतबाट तस्करीको चिनी ल्याएर भ्याटफिर्ता लिने गरेको स्रोतको दाबी छ ।
स्वदेशी चिनी उद्योग वा उखु किसानको बहानामा शशीकान्त र राजकुमार अग्रवालहरूले ५ वर्षको दौरानमा २ अर्बभन्दा बढी कमाउन सफल भएको उनीहरूलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।
FACEBOOK COMMENTS