काठमाडौं, पुस २० -अष्ट्रेलियामा खोलामा डुबेर दुई नेपालीको मृत्यु भएको छ । सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई जना नेपाली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ भने
एक जना गम्भीर घाइते भएको न्यू साउथवेल्स प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुली तथा घाइते हुने प्रदीप पाण्डे रहेका छन् ।
प्रहरीका अनुसार गत शुक्रबार राति साढे सात बजेको हाराहारीमा बरारा न्यासनल पार्कस्थित खोलामा पौडी खेल्दा दुईजना पानीमा बेपत्ता भएको खबर पाएपछि आपतकालीन सेवाका अधिकारीहरू उद्धार कार्यमा जुटेका थिए। खोजी कार्य शुरू गरेपछि राति करिब साढे एघार बजे दुवै जनाको शव बरामद गरेको थियो।
अष्ट्रेलियाका न्यू साउथवेल्स र भिक्टोरिया राज्य यतिबेला अध्यधिक गर्मीको चापेटामा ठूलो आगलागीबाट गुज्रिरहेको छ ।
गर्मी छल्न समुन्द्र र नदी किनारा पुग्ने मानिसको चाप बढ्ने यो समयमा पानीमा डुबेर मर्नेको संख्या पनि वृद्धि भइरहेको छ ।
