काठमाडौं, मंसिर १९ –ओपनर लोकेश राहुल र अलराउन्डर रविन्द्र जडेजा चम्कँदा भारतले पहिलो टि२० खेलमा अष्ट्रेलियालाई १ सय ६२ रनको मध्यम लक्ष्य दिएको छ ।
मानुका ओभल क्यानबेरामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । भारतलाई मध्यम योगफलसम्म पुर्याउन तल्लोक्रममा रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गरे । जडेजाले २३ बलमा ५ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । ओपनर लोकेश राहुलले ४० बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
भारतले ११ रन जोड्दा ओपनर शिखर धवनलाई ब्यक्तिगत एक रनमा गुमाएको थियो । तीव्र गतिका बलर मिचेल स्टार्कले तेसो ओभरको पाँचौ बलमा धवनलाई एक रनमा बोल्ड आउट गर्दै अष्ट्रेलियालाई पहिलो सफलता दिलाए । सातौं ओभरको चौथो बलमा स्पिनर मिचेल स्वेपसनले आफैं क्याच लिँदै कप्तान विराट कोहलीलाई ९ रनमा पेभिलिएन फर्काएपछि भारत दबाबमा परेको थियो ।
कोहली आउट भएपछि मैदानमा छिरेका युवा ब्याट्सम्यान सन्जु स्यामसनले राम्रो ब्याटिङको संकेत देखाएका थिए । तर हेनरिक्स मोइसेसको बलमा सट खेल्नेक्रममा स्यामसन कभरमा स्विपसनबाट २३ रनमा समातिन पुगे । स्यामसनले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
१३ औं ओभरको चौथो बलमा स्पिनर स्पिनर एडम जाम्पाको एक्स्ट्रा बाउन्स बलमा टप एज लागेर थर्डम्यानमा जोश हेजलवुडबाट क्याच भएपछि भारत समस्यामा परेको थियो । १४ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका राहुल लङअनमा सन एबटबाट क्याच आउट भएपछि भारत ९२–५ को कमजोर अवस्थामा पुगेको थियो ।
हेनरिक्सकको १७ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने क्रममा हार्दिक पान्ड्या लङअफमा स्टिभ स्मिथबाट १६ रनमा समातिएपछि भारतको ठूलो योगफलको सम्भावना सकिएको थियो । हार्दिकले १५ बलमा १ छक्का प्रहार गरे । वासिन्टन सुन्दर ७ रनमा क्याच आउट भए ।
अष्ट्रेलिया मध्यगतिका बलर हेनरिक्स मोइसेसले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । स्पिनर एडम जाम्पाले ४ ओभरमा २० रन खर्चिदै एक विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मिचेल स्विपसनले एक विकेट लिए ।
FACEBOOK COMMENTS