साँघुरिदै गएको काठमाडौं बागबजारको एउटा गल्लीको पहिलो तल्लामा रहेको स्टडी अष्ट्रेलियन एजुकेशन कन्सलटेसन प्रालिमा फराकिलो सपना लिएर बसिरहेका छन् होम दवाडी । झापा स्थायी बसोबास भएका उनी ११ वर्ष अष्ट्रेलिया बसेर नेपाल फर्केका हुन् । अष्ट्रेलियालाई राम्रोसँग बुझेर फर्केका उनी अहिले त्यहाँ पढ्न जान चाहनेका भरपर्दाे सारथी बनिरहेका छन् ।
उच्च शिक्षाको गन्तब्य अष्ट्रेलिया बनाउने चाहना बोकेकाहरुलाई सहजीकरण गर्ने पेशा सेवा पनि रहेको उनले बुझेका छन् । त्यसैले उनी त्यहाँ पुगेपछि विद्यार्थीले जे भोग्न पाउँछन्, त्यतिसम्मको मात्रै सपना देखाइरहेको बताउँछन् । विदेशमा उच्च शिक्षा हासिल गर्ने चाहना बोकेकाहरुका सहयात्री दवाडीसँग कर्पोरेट संवादः
विद्यार्थीहरुले अष्ट्रेलिय एजुकेशन कन्सल्टिङ प्रालि नै किन छान्ने ?
कन्सल्टेन्सी त थुप्रै छन् । आफू भरपर्दो रहेको दाबी पनि धेरैले गर्लान् । तर, म लामो समय अष्ट्रेलिया बसेर फर्केको छु । मैले त्यहाँ ११ वर्ष बिताएँ । विद्यार्थी भएर गएको पिआर पाएर फर्कें । त्यसेले यो अवधि आउने समस्या के हुन् ? समाधान के हुनसक्छ ? के–के कुरामा ध्यान दिनुपर्छ ? जस्ता कुराहरु म्ैले राम्रोसँग बुझेको छु । कसैको भिषा लगाउनु ठूलो कुरा होइन । एकेडेमीमा ६० प्रतिशत र आइएलटिएस ६ अंक भन्दा माथि भए भिषा लाग्छ राम्रो मान्छेको हातमा परेको खण्डमा ।
तर, विद्यार्थीलाई अष्ट्रलिया पुगेको पहिलो दिनबाटै समस्या सुरु हुन्छ । हामी त्यस्ता समस्या आउन दिँदैनौ । हाम्रो कन्सल्टेन्सीबाट भिषा लागेहरुलाई एअरपोर्ट पिकअप गर्छाैं । काम गरेर पढ्नेलाई कामको खोजीका लागि सहयोग गर्छाैं । त्यहाँको पिआर लिने चाहना हुनेलाई त्यसका लागि पनि हामी सहजीकरण गर्छाैं । पिआर पाएपछि कार लोन, होम लोन जस्ता कुरा उपलब्ध गराउन सघाउँछौं ।
समग्रमा त्यहाँ पुगेपछि समस्या के आउँछन् र त्यसबाट कसरी बाहिर निस्किने भनेर हामी बाटो पहिल्याइदिन्छौं । परिवारबाट टाढा हुँदा आउने समस्याहरुसँग जुध्न हामी सँगै हुन्छौं र उसको सपना साकार पार्ने सही सहयोगीको भूमिका हामीले निर्वाह गर्छाैं । त्यसैले हामीलाई रोज्नु उपयुक्त हुन्छ ।
तपाईंले उच्च शिक्षाका लागि विदेश जान चाहनेहरुलाई सहयोग गर्न थालेको कति भयो ?
म आफू यो क्षेत्रमा आवद्ध भएको ४ वर्ष भयो । मैले सुरुवातका दिनमा यही काम तर अर्कै नामको अफिस अष्ट्रेलियामा चलाएँ । त्यसपछि नेपाल आएर दुई वर्ष अरुकोमै काम गरें । त्यसपछि म आफैं सक्षम छु भनेर आफैंले सुरु किन नगर्ने भनेर यो कन्सल्टेन्सी खोलें । हामीले अहीले नेपालको दुई ठाउँ काठमाडौं र इटहरी र अष्ट्रेलियामा अफिस खोलेर विद्यार्थीलाई सघाइरहेका छौं ।
यो अवधिमा कतिजनाई पठाइयो ?
म आफैंले यो अफिस खोलेको जम्मा एक वर्ष भयो । यो एक वर्षमा ५० भन्दा बढीको भिषा लागिसकिेको छ । हामी अष्ट्रेलियासँगै न्युजिल्यान्ड, क्यानडा लगायतका देशमा पढ्न जानेलाई पनि सहयोग गर्छाैं ।
कुन विषय पढ्न जाँदा उपयुक्त हुन्छ ? त्यस्तो कुनै विशेष क्राइटएरिया छ ?
यहाँ जे विषय पढेको छ, त्यहाँ पुगेर त्यही विषयसँग सम्बन्धितमा थप शिक्षा हासिल गर्ने हो । सवैलाई उत्तिकै अवसर छ । तर, अहिले नर्सिङ र आइटीमा राम्रो छ । एकाउन्टिङमा भने प्रतिष्पर्धा बढेको छ ।
विदेश जानका लागि उनीहरु विकल्प सुझाउनुहुन्छ कि चाहेको विषयमा उच्च शिक्षा हासिल गर्न पुलको भूमिका मात्रै निभाउनुहुन्छ ?
म आफू क्वालिफाइड एजुकेशन कन्सल्ट्यान्ड (क्युएसी) हो । अष्ट्रेलिया के हो ? त्यहाँको शिक्षा के हो ? भन्ने बुझेपछि मात्रै क्युएसी दिइन्छ । क्युएसी भनेको कुन पढ्दा राम्रो, कुन पढ्न उपयुक्त जस्ता कुराहरु जानेकोलाई दिइन्छ । त्यसैले मैले यसबारे धेरै जानकारी पाएकाले विद्यार्थीहरुलाई कुन विषय पढ्दा उपयुक्त हुन्छ भनेर पनि सुझाउने गरेको छु ।
विद्यार्थीहरुलाई यहाँ एउटा भनेर लैजाने तर त्यहाँ पुगेपछि त्यस्तो नहुने भन्ने गुनासो पनि बढिरहेको छ नि !
कतिपयले त्यस्तो गर्छन् । यहाँ ठूलो युनिभर्सिटीको राम्रो भवनको तस्बिर देखाइन्छ तर त्यहाँ त्यस्तो हुँदैन । ठूला सपना देखाइन्छ, सपनाको उडान भर्दै पुग्छ त्यहाँ विद्यार्थी । त्यहाँ पुगेपछि हातखुट्टा भाँचे जस्तै हुने गरेको पनि छ । किनभने त्यहाँ पुगेपछि उसलाई देखाइएको सपना पूरा हुँदैन त्यसपछि धेरैजना रुने, कराउने, डिप्रेशनमा जाने हुन्छन् । यो विषयमा हामी जानकार छौं । हामी यहाँ त्यति नै सपना देखाउँछौं, जति त्यहाँ पूरा हुन्छ । सकेसम्म थोरै सपना देखाउँछौं, त्यहाँ पुगेपछि सपनाको आकार भन्दा ठूलो यथार्थ भए राम्रो । त्यसैले हामीले पठाएका विद्यार्थीहरुले यस्तो गुनासो गरेका छैनन् र गर्दैनन् पनि ।
तपाइ आफ्नो कन्सेल्टेन्सीलाई के कुराका लागि स्थापित गर्न चाहनुहुन्छ ?
हामी नयाँ र हामी फरक भनेर सवैले भन्ने कुरा एउटै हो । तर, हामी जे भन्छौं, त्यो पु¥याउँछौं । अहिले वास्तविकता के छ भनेर धेरै कन्सल्ट्यान्सीबाट गएका ९० प्रतिशतले युनिभर्सिटी र कलेज परिवर्तन गछन् । सस्टेनेबल स्टडी गर्न सक्दैनन् । किनभने जुन भनिएको हुन्छ, त्यो पुग्दैन । त्यहाँ गएर शुल्क तिर्न नसक्ने हुन्छन् । हामी के कुरामा ध्यान दिइरहेका हुन्छौं भने यहाँबाट जाने विद्यार्थीको पढाइ शुल्क थोरै होस् । त्यहाँ पुगेर पढ्न सकोस् । मुख्य कुरा आफूलाई मेन्टली फ्रेस राखोस् । हामीले त्यो आधारमा मैले काउन्सिलिङ गरेका हुन्छौं । त्यो कहिल्यै ब्रेक हुँदैन । लामो समयसम्म त्यहाँ पढ्ने र भविष्य बनाउने सक्ने बनाइन्छ । आर्थिक र शिक्षाका हिसाबले उनीहरु सपनालाई साकार पार्न सक्छन् । मेरो घर र अफिस त्यहीँ भएकाले हाम्रा विद्यार्थीको समस्यासँग म पनि हुन्छौं र तिनीहरुसँग लड्न सघाउँछु । हामीले पठाएका विद्यार्थीका सपनाका हरेक पाइलामा हामी हुन्छौं । विदेशी भूमिमा एक्लो महशुस हुन दिँदैनौं । यसैमा आफूलाई स्थापित गर्न खोजिथरहेका छौं ।
तपाईं त त्यहाँकै पिआर लिएको मान्छे । कमाई र जीवनशैली त्यहाँकै आकर्षक छ । नेपाल फर्किन के कुराले प्रेरित ग¥यो ?
म अष्ट्रेलिया जानुअघि शिक्षकका रुपमा काम गर्थें । मलाई पढाउने रहर मरेको थिएन । यसबाहेक सामाजिक काममा पनि रुची थियो । रेडियो, टिभीमा एङकरिङ गर्ने र मोडलिङ गर्ने कुरामा पनि रुची थियो । खाशगरी सामाजिक भावना भएकाले मैले त्यहाँ पुगेपछि आफ्नो समाज मिस गरें । त्यसैले मलाई नेपाल फर्कायो ।
कन्सेल्टेन्सी नै किन ?
सुरुमा के–के गरियो त्यो आफ्नो ठाउँमा छ । पछि मैले अष्ट्रेलियामा जे समस्या भोगें । त्यसले मलाई सिकायो । अब त्यहाँ नयाँ जानेले मैले भोगेकै समस्या नभोगोस् भनेर भन्न मन लाग्यो । त्यसैले यहीसँग सम्बन्धित व्यवसायतिर लागें । व्यवसाय सँगै सेवा गर्न कन्सल्टेन्सी खोलेको हुँ ।
तपाईं आफूले चाहिँ के पढ्नुभयो ?
मैले नेपालमा त्रिचन्द्र क्याम्पसमा साइन्स पढें । साइन्स नै पढाएँ । अष्ट्रेलिया गएपछि मैले शिक्षण पेशा निरन्तरताका लागि एजुकेशन नै पढें । तर, व्यवसाय गर्न मन लाग्यो । शिक्षासँग जोडिएको व्यवसाय भएकाले यो काम गरिरहेको छु ।
भविष्यमा गएर अरु कुनै काम गर्ने योजना पनि छ कि ?
सायद म वृद्धाश्रम खोल्छु होला । समाजसेवा यो पाटोमा पनि मेरो उत्तिकै रुची छ ।
FACEBOOK COMMENTS