काठमाडौं, मंसिर २४- भारतीय क्रिकेट टोलीले स्लो ओभर रेटका कारण जरिवाना तिर्नुपर्ने भएको छ। अस्ट्रेलिया भ्रमणमा रहेको टिमले तेस्रो तथा अन्तित ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा स्लो ओभर रेट (ढिलो बलिङ गरेको) कारण जरिवाना तिर्नुपर्ने भएको आइसिसिले जनाएको छ।
अस्ट्रेलियाविरुद्धको तेस्रो ट्वान्टी-२० खेलमा निर्धारितभन्दा ढिलो गरी बलिङ गरेबापत् आइसिसीका म्याच रेफ्री डेविड बुनले भारतीय टिमलाई ‘म्याच फी’ को २० प्रतिशत जरिवाना गराएका हुन्।
आइसिसीले निर्धारित समयमा बलिङ पूरा नगरेका कारण आचार संहिताअनुसार जरिवाना लगाएको एक विज्ञप्तिमार्फत् जनाएको छ। भारतीय टोलीले मंगलबार सम्पन्न तेस्रो खेलमा निर्धारित समयमा २० ओभर बलिङ गरिसक्नुपर्नेमा १९ ओभर मात्र बलिङ गर्न सकेको थियो।
तीन खेलको शृंखलाअन्तर्गत पहिलो दुई खेल जितेको भारत तेस्रो खेलमा पराजित भएको थियो।