विकास बजेटलाई अन्तिम समयमा खर्च गरेको देखाउन स्थानीय तहका जनप्रतिनिधि, प्रदेश तथा प्रतिनिधी सांसदहरू असारे विकासमा केन्द्रित भएका छन्। विकास निर्माणको काम जेठ, असार महिनामा सक्ने परम्परालाई निरन्तरता दिँदै जनप्रतिनिधीले अहिले बजेटलाई विकास निर्माणभन्दा पनि व्यक्तिगत र पार्टीको फाइदाका लागि प्रयोग गर्ने गरेको स्थानीयको आरोप छ।
जिल्लास्थित विभिन्न कार्यालय तथा स्थानीय तहमा आएको बजेटलाई विकासको नाममा जसरी पनि खर्च गरेको देखाउन जनप्रतिनिधिहरू सक्रियरूपमा लागेका छन्। हतारमा गरेको कामले बजेट मात्रै खर्च हुने र काम गुणस्तरीय नहुने स्थानीयको भनाइ छ।
संघ र प्रदेश सरकारले जेठमा बजेट ल्याउने र स्थानीय तहले असार १० गते भित्रमा बजेट ल्याउने गरेपनि जेठ, असारमा मात्रै अधिकांश रकम खर्च हुने गरेको तथ्यांकले देखाएको छ। यहाँका जनप्रतिनिधिहरू अहिले पनि विकास निर्माणका योजनाको शिलान्यास गर्नमा व्यस्त रहेका छन्। केही दिनअघि मात्रै प्रसौनी गाउँपालिका अध्यक्ष भोला गुप्ताले पोली टेक्निकलको पर्खाल निर्माण कार्यको शिलान्यास गरे। २५ लाख रूपैयाँमा सुरु भएको काम कति गुणस्तरीय र टिकाउ हुन्छ भन्दै स्थानीयले प्रश्न गर्ने गरेका छन्।
गाउँपालिका अध्यक्ष गुप्ताले भने असारमा भएपनि काम हुनु नै ठूलो कुरा भएको बताए। बजेट खर्च नभएर फिर्ता जानुभन्दा असारमा भएपनि काम गरेर खर्च गर्नु राम्रो काम भएको उनको दावी छ। जिल्लामा रहेका १६ वटा स्थानीय तह, आठ जना प्रदेशसभा सदस्य, चार जना प्रतिनिधीसभा सदस्य र समानुपातिक प्रदेशसभा सदस्यहरूले १० महिनामा गर्न नसकेको विकास निर्माणको काम जेठ र असार महिनामै गरेर अर्बौं विकास बजेट सक्ने काममा लागेको स्थानीयको भनाइ छ।
जेठ र असारमा हतार हतारमा गर्ने विकास विकास निर्माणको काम गुणस्तर र टिकाउ नभए पनि खर्च गरिएको बजेट रकमबाट जनप्रतिनिधिले आफू र कार्यकर्ताको भरण पोषणमा खर्च गर्ने स्थानीयको आरोप छ।
-नागरिक दैनिक
