काठमाडौ, भदौ २७ । नेपाल राष्ट्र बैंकले दशैँलाई लक्षित गरी करिब ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निष्काशन गर्ने भएको छ ।
केन्द्रीय बैंकले निष्काशन गर्न लागेको कुल नयाँ नोटमध्ये निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । यससँगै सर्वसाधारणले आउँदो असोज १४ गतेदेखि नयाँ नोट साट्न पाउने भएका छन् ।
केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन् ।
यसका साथै केन्द्रीय बैंकले सर्वसाधारणको सहजताका लागि नेपाल बैंकको काठमाडौं बैकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट नयाँ नोट लिने व्यवस्था गरेको छ ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा उपलब्ध हुनेछ । त्यस्तै कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था हुनेछ ।
FACEBOOK COMMENTS