काठमाडौं, कात्तिक १९ – अस्ट्रेलियन अलराउन्डर सेन वाटसनले इन्डियन प्रिमियर लिग (आईपीएल)बाट सन्न्यासको घोषणा गरेका छन् । वाटसनले चेन्नईको अन्तिम खेलपछि ड्रेसिङ रुममा अन्य सहकर्मीमाझ आईपीएलबाट सन्न्यास लिएको घोषणा गरेको बुझिएको छ ।
आईपीएलमा दुई पटकका ‘मोस्ट भ्यालुएबल प्लेयर अवार्ड’ विजेता वाटसन आईपीएल इतिहासका एक सर्वाधिक सफल अलरान्डर हुन् । उनले यस सिजन चेन्नई सुपर किंग्सबाट खेल्दै औसत प्रदर्शन गरेका थिए । वाटसनले आफ्नो आईपीएल करिअरमा अन्तिम खेल आइतबार किंग्स इलेभेन पन्जाबविरुद्ध खेले । वाटसनले २००८ मा राजस्थान रोयल्सबाट दिल्लीविरुद्ध डेब्यु गरेका थिए । वाटसनले २००८ राजस्थान रोयल्स र २०१८ मा चेन्नई सुपर किंग्सबाट आइपिएल उपाधि जितेका थिए । ३९ वर्षीय वाटसनले आईपीएलमा कुल १ सय ४५ खेल खेलेका छन् । उनले ३ हजार ८ सय ७४ रन बनाएका छन् । जसमा चार शतक सामेल छ । कुल ९२ विकेट लिँदा एउटा ह्याट्रिक उनको नाममा छ ।
वाटसनले सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । २०१६ र २०१७ मा वाटसनले रोयल च्यालेन्जर्स बैंग्लोरबाट आईपीएल खेलेका थिए । २०१८ मा भने वाटसन चेन्नइमा पुगेका थिए । चेन्नईलाई तेस्रोपटक उपाधि जिताउँन फाइनलमा उनले हैदराबादविरुद्ध ५७ बलमा १ सय १७ रनमा अविजित रहँदै ‘प्लेयर अफ द फाइनल चुनिएका’ थिए । सन् २०१९ को फाइनलमा मुम्बईविरुद्ध ५९ बलमा ८० रन जोडे पनि चेन्नईले एक रनले हारेको थियो । यस सिजनमा वाटसनले चेन्नईबाट कुल ११ खेलमा २ सय ९९ रन बनाए ।
चेन्नई पहिलोपटक लिग चरणबाट बाहिरिएको थियो । वाटसनले आगमी दिनमा प्रशिक्षकको रूपमा काम गर्ने इच्छा राखेको बुझिएको छ । विश्वकप विजेता वाटसनले अस्ट्रेलियाबाट ५९ टेस्ट, १ सय ९० ओडीआई र ५८ टी–२० आई खेलेका थिए ।
FACEBOOK COMMENTS