काठमाण्डौँ — दर्ता नै नभएको कलेजमा विद्यार्थी पठाउने शैक्षिक परामर्शदाताहरूलाई कारबाही गर्न अस्ट्रेलियाको शिक्षा मन्त्रालयले नेपाल सरकारलाई आग्रह गरेको छ ।
कलेज र नेपाली कन्सल्टेन्सीकै कारण विद्यार्थी समस्यामा परेको औंल्याउँदै मन्त्रालयले नेपाली दूतावासमार्फत सरकारलाई यस्तो सुझाव दिएको हो ।
अस्ट्रेलियाका लागि कार्यवाहक राजदूत दु्रपदा सापकोटाले मन्त्रालयको सन्देश नेपाल सरकारलाई पठाइसकेकी छन् ।
कलेज र विद्यार्थी भर्ना प्रक्रियामा संलग्न शैक्षिक परामर्शदाताले विद्यार्थीहरूलाई सही सूचना नदिएका कारण समस्या सिर्जना भएको अस्ट्रेलियाको शिक्षा मन्त्रालयका पदाधिकारीले बताएका छन् ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी कलेजमा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीले पनि कन्सल्टेन्सीका झूटा सूचनाको प्रलोभनमा परेको गुनासो गरेका छन् ।
मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले छानबिन प्रतिवेदन आएपछि आवश्यक कारबाही अघि बढाइने जनाए ।
— कान्तिपुर
FACEBOOK COMMENTS