काठमाडौं, भदौ ५ – विराटनगर महानगरपालिकामा थप एक संक्रमितको बिहीबार राति मृत्यु भएको छ । विराटनगर ६ का ४५ वर्षीय पुरुषको घरमै मृत्यु भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
सोमबार स्वाबको नमुना दिएका उनको बुधबार रिपोर्ट पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भए पनि आइसोलेसनमा शय्या अभावका कारण उनी घरमै बस्न बाध्य भएका थिए ।
विराटनगर महानगरपालिका-६ का वडाध्यक्ष विजय कामतले संक्रमण पुष्टि भएपछि आइसोलेसनमा लैजाने प्रयास गरेको तर आइसोलेसन केन्द्रहरु संक्रमित बिरामीले भरिभराउ रहेकाले घरमै बस्दै आएका उनको बिहीबार राति अचानक मृत्यु भएको बताए ।
वडाध्यक्ष कामतका अनुसार आइसोलेसन केन्द्रमा शय्या अभावमा वडाभरिमा ४० जना संक्रमित घरमै बस्न बाध्य रहेको बताए । महानगरमा होम आइसोलेसनमा ३ सय ३१ जना रहेका छन् ।
FACEBOOK COMMENTS